काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड अब नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को भुक्तानी प्रणालीमार्फत डिजिटल माध्यमबाट आफ्ना भुक्तानी कारोबार गर्न सक्ने भएको छ।
यस सम्बन्धमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात् सूर्यज्योति इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने र विभिन्न डिजिटल भुक्तानी उपकरणहरूको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
अब सूर्यज्योतिले एनसीएचएल–आईपीएस र आरपीएस प्रणालीमार्फत बीमा प्रिमियम संकलन, एजेन्ट कमिशन, कर्मचारी तलब, भेन्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका भुक्तानी सेवाग्राहीको बैंक खातामा सिधै पठाउन सक्ने र आगामी दिनमा थप भुक्तानी सुविधा क्रमिक रूपमा लागू गरिने कम्पनीले बताएको छ।
एनपीआई एक ओपन एपीआई अवधारणामा आधारित एकीकृत इन्टरफेस प्रणाली हो जसमा हाल ५३ बैंक तथा वित्तीय संस्था आबद्ध छन्। साथै ११० भन्दा बढी पिएसपीरपिएसओ, रेमिटेन्स कम्पनी, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्था गैर–बैंकिङ सदस्यका रूपमा आबद्ध छन्।
सूर्यज्योति लाइफ इन्स्योरेन्स देशभरका २०० भन्दा बढी शाखामार्फत ग्राहकलाई जीवन बीमा सेवा दिँदै आइरहेको नेपालको एक अग्रणी जीवन बीमा कम्पनी हो।
प्रतिक्रिया