चेतकको सबैभन्दा सस्तो भेरियन्ट सार्वजनिक

मंगलबार, १६ बैशाख २०८२, १६ : ०९

काठमाडौं- बजाज अटोले चेतक ३५ सिरिजमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा चेतकको ३५०३ मोडल १ लाख १० हजार भारु (एक्स शोरुम) मूल्य निर्धारण गरेर सार्वजनिक गरेको हो ।

यो स्कुटर बजाज चेतकको सबैभन्दा सस्तो मोडल हो । चेतक पछिल्लो समय भारतीय बजारमा लिडरको रूपमा रहँदै आएको छ । कम मूल्यको नायँ मोडल आएसँगै यसले बजारमा अझै प्रभाव पार्ने देखिन्छ ।

नयाँ चेतक ३५०३ मा ३।५ किलोवाट आवरको ब्याट्री रहेको छ । यो ब्याट्रीलाई ०–८० प्रतिशत चार्ज हुन करिब ३ घण्टा २५ मिनेट समय लाग्ने छ । एक पटकको फुलचार्जमा यस स्कुटरले १५५ किलोमिटरसम्मको रेन्ज दिनेछ भने यसको टप स्पीड ६३ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले दाबी गरेको छ ।

पूरा मेटल बडी डिजाइनमा आएको यस स्कुटरमा ब्लुटूथ कनेक्टिभिटी सहितको कलरफुल एलसीडी डिस्प्ले, टेकप्याकका साथै एड्भान्स फिचर्स अपडेट गर्ने सुविधा, अलोय ह्वील, दुवै टायरमा ड्रमब्रेक, ३५ लिटरको बुट स्पेस, इको र स्पोर्ट गरी दुई राइडिङ मोड र हिल होल्ड एसिस्ट जस्ता फिचरहरू पाउन सकिन्छ ।

बजाज मोटरसाइकल नेपालमा सर्वाधिक बिक्री हुने ब्राण्डमा पर्छ । नेपालमा बजाजको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चेतक स्कुटर नेपाली बजारमा बिक्री सुरू गर्ने तयारी थालेको छ ।

कम्पनीले नेपाली बजारमा ३५ सिरिजकै दुई मोडल सार्वजनिक गर्ने तयारी थालेको छ भने, ३५०३ पनि चाँडै नेपाली बजारमा आउने अनुमान गरिएको छ । 

मंगलबार, १६ बैशाख २०८२, १६ : ०९

प्रतिक्रिया