काठमाडौं- भारतको प्रतिष्ठित स्मार्ट स्टोरेज मार्केटप्लेस ‘एयराटिक्स’ले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ ।
काठमाडौंको होटल एम्बेसडर लाजिम्पाटमा आयोजित समारोहकाबीच सेवा शुभारम्भ गर्दै कम्पनीले नेपाली उपभोक्तालाई डिजिटल माध्यममार्फत लचिलो भण्डारण, स्थानान्तरण र अन्तिम माइल लजिस्टिक्स सेवा उपलब्ध गराउने घोषणा गरेको हो।
एयराटिक्सले प्रयोगमा नरहेका ठाउँहरूलाई डिजिटल प्लेटफर्ममार्फत उपयोगकर्तासँग जोड्ने सुविधा दिन्छ। सेवा व्यक्तिगत, व्यवसायिक तथा पर्यटक—सबैका लागि उपयोगी हुने कम्पनीको दाबी छ। कम्पनीले लगेज स्टोरेज, सामान भण्डारण, अर्डर फुलफिलमेन्ट र स्थानान्तरण सेवा प्रदान गर्दै नेपालको बढ्दो शहरीकरण र स्थान व्यवस्थापनको चुनौतीलाई समाधान गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमको नेतृत्व गर्दै एयराटिक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आदित्य कालेले नेपालमा कम्पनीको उपस्थिति विस्तार गर्नु एक महत्वपूर्ण कदम भएको बताए। ‘स्टोरेज यो क्षेत्रकै प्रमुख समस्या हो र यही समस्याले हामीलाई एयराटिक्स सुरु गर्न प्रेरित गर्यो ।’ उनले भने। उनले कम्पनीले अघिल्लो तीन महिनादेखि नेपालमा सेवा दिइरहेको र हालसम्म ५०० भन्दा बढी ग्राहकलाई सेवा दिइसकेको जानकारी पनि दिए।
हाल एयराटिक्सको सेवा काठमाडौंमा सीमित भएपनि, निकट भविष्यमा पोखरा र बीरगञ्जजस्ता प्रमुख सहरमा पनि विस्तार गरिने कम्पनीको योजना छ । साथै, उनले नेपाली प्रयोगकर्ताहरूमा पनि भण्डारणसम्बन्धी समस्याहरू देखिएको उल्लेख गर्दै, ‘हामी यहाँ उपस्थित हुन पाउँदा निकै खुसी छौं।’ उनले भने।
प्रतिक्रिया