काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र नागरिक एपमा १०० भन्दा बढी सरकारी सेवा थपिने बताएका छन् ।
आठौं राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै मन्त्री गुरुङले नागरिकलाई आवश्यक सेवा एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले नागरिक एपमा सेवा विस्तार गर्न लागिएको उल्लेख गरे ।
उनका अनुसार हाल ३५ सरकारी निकायका ६५ भन्दा बढी सेवा नागरिक एपमा आबद्ध गरिसकिएको छ । “सबै मन्त्रालय अन्तर्गतका उच्च प्राथमिकताका १०० भन्दा बढी सेवाहरू यसै वर्षभित्र नागरिक एपमा आबद्ध गर्ने योजनाका साथ कार्य अगाडि बढिरहेको छ,” मन्त्री गुरुङले भने ।
उनले डिजिटल नेपाल निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र यसका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत सुधारका कार्यहरू तीव्र गतिमा भइरहेको बताए । सूचना प्रविधिको विकाससँगै नेपाल पनि सूचना प्रविधिको युगमा प्रवेश गरिरहेको र यसले नेपालीहरूको जीवनशैलीमा समेत परिवर्तन ल्याएको उनको भनाइ छ ।
उनले देशभर दूरसञ्चार सेवाको पहुँच पुगेको, सबै स्थानीय तह र वडा केन्द्रसम्म यसै वर्षको अन्त्यसम्ममा दिगो ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच पुर्याउन निरन्तर कार्य भइरहेको र देशका कुना कन्दरासम्म फोरजी सेवाको व्यापक विस्तार गर्नुका साथै काठमाडौँ र सातै प्रदेशका मुख्य सहरहरूमा यसै वर्षको अन्त्यसम्ममा फाइभजी प्रविधिमा आधारित सेवा विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए ।
मन्त्री गुरुङले सरकारी डेटा सेन्टरको स्तरोन्नति र आधुनिकीकरण गर्ने, निजी क्षेत्रका डाटा सेन्टरहरूको सञ्चालन सम्बन्धी निर्देशिका तयार गर्ने, डिजास्टर रिकभरी सेन्टर स्थापना र प्रभावकारी सञ्चालनका लागि आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध गरी सबलीकरण र आधुनिकीकरण गर्ने कार्य सुरु गरिएको बताए ।
प्रतिक्रिया