काठमाडौं- हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा आफ्नो ३० औं वर्ष पार गर्नै लाग्दा ऐतिहासिक सफलता हात पारेको छ। कम्पनीले १९९६ मा स्यान्ट्रो कारमार्फत भारतीय बजारमा प्रवेश गरेदेखि हालसम्म कुल ९० लाख सवारी साधन बिक्री गरी नयाँ कीर्तिमान कायम गरेको हो। यससँगै हुन्डाईले आफूलाई भारतको दोस्रो ठूलो कार निर्माता कम्पनीको रूपमा मजबुत बनाएको छ।
कम्पनीले सार्वजनिक गरेको अप्रिल २०२५ को बिक्री तथ्यांक अनुसार सो महिनामा हुन्डाईले कुल ६० हजार ७७४ युनिट सवारी साधन बिक्री गरेको थियो । तीमध्ये ४४ हजार ३७४ युनिट भारतको घरेलु बजारमा बिक्री भए भने बाँकी १६ हजार ४०० युनिट अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिएको थियो । गत वर्षको सोही अवधिसँग तुलना गर्दा कम्पनीको निर्यातमा २१.५ प्रतिशतले वृद्धि भएको देखिन्छ। यही अवधिमा, जनवरीदेखि अप्रिल २०२५ सम्म निर्यात वृद्धि १६.२ प्रतिशतको दरले भएको थियो।
हुन्डाई मोटर इन्डियाले विभिन्न वर्गका सवारी साधन उत्पादन तथा बिक्री गर्दै आएको छ। ह्याचब्याक, सेडान, एसयूभीदेखि लिएर इलेक्ट्रिक कारसम्मका मोडल कम्पनीको उत्पादन सूचीमा छ । कम्पनीका अनुसार, भारतीय बजारमा सबैभन्दा लोकप्रिय एसयूभीमध्ये क्रेटा अग्रस्थानमा रहेको छ। यसैगरी आई१० मोडल अन्तर्गतका सवारी साधनले हालै ३० लाख युनिट बिक्रीको कीर्तिमान बनाएको छ, जसले हुन्डाईको बजार प्रभावलाई थप सशक्त बनाएको छ।
हुन्डाईले महाराष्ट्रको तलेगाउँमा नयाँ उत्पादन प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। सो प्लान्ट सुरु भएपछि कम्पनीको उत्पादन क्षमता अझ वृद्धि हुने अपेक्षा गरिएको छ। हुन्डाई मोटर इन्डिया लिमिटेडले यस उपलब्धिलाई आफ्नो दीर्घकालीन रणनीति र ग्राहकप्रतिको प्रतिबद्धताको परिणामको रूपमा लिएको छ।
प्रतिक्रिया