इसुजु डी–म्याक्सको विद्युतीय संस्करण सार्वजनिक

सोमबार, २२ बैशाख २०८२, १३ : ४९

काठमाडौं- इसुजुले आफ्नो लोकप्रिय पिकअप ट्रक डी–म्याक्सको इलेक्ट्रिक संस्करण सार्वजनिक गरेको छ। 

थाइल्याण्डमा आयोजित ४५ औं बैंकक अन्तर्राष्ट्रिय मोटर शोमा कन्सेप्ट मोडल देखाइएको इलेक्ट्रिक संस्करण प्रोडक्सन भर्सन सार्वजनिक गरिएको हो ।

इलेक्ट्रिक डी–म्याक्स पेट्रोल वा डिजेल मोडेलजस्तै देखिएपनि यसको संरचना इलेक्ट्रिक प्रविधिमा आधारित छ। हाल यो गाडीको उत्पादन थाइल्याण्डमा सुरु भइसकेको छ।

इसुजुले युरोप र बेलायतका लागि डी–म्याक्स ईभी मोडल पनि प्रस्तुत गरिसकेको छ। युरोपेली बजारका लागि बनाइएको मोडल लेफ्ट ह्यान्ड ड्राइभ हुनेछ र यसको उत्पादन थाइल्याण्डमै हुनेछ। २०२५ को तेस्रो त्रैमासिकदेखि डेलिभरी सुरु हुने बताइएको छ। 

इलेक्ट्रिक डी–म्याक्सको अगाडि ड्युअल स्लेट ग्रिलमा निलो हाइलाइट, हेडलाइटमा निलो एक्सेन्ट र कालो स्पोर्टी अलोय ह्विलले सो मोडललाई विशेष बनाएको छ। हाल यो ड्युअल–क्याब भर्सनमा मात्र उपलब्ध छ।

यसमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ८ स्पिकर अडियो सिस्टम, ड्युअल–जोन क्लाइमेट कन्ट्रोल, अटो–डिमिङ रियर–भ्यु मिरर र पार्किङ सेन्सर जस्ता फिचर समावेश छ ।

यो ईभीमा ६६.९ किलोवाट आवरको ब्याट्री दिइएको छ जसले १८८ बीएचपीको पावर र ३२५ एनएमको टर्क जेनेरेट गर्छ । सो गाडीले एकपटकको पूर्ण चार्जमा २६३ किलोमिटरको रेन्ज प्रदान गर्छ । 

५० किलोवाटको डीसी फास्ट चार्जरबाट १ घन्टाभित्रै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न १ घण्टा पनि लाग्दैन। ११ किलोवाटको एसी होम चार्जर प्रयोग गरेर ० देखि १०० प्रतिशत चार्ज गर्न करिब १० घण्टा लाग्छ । यसको अधिकतम गति १२५ किलोमिटर प्रति घण्टा छ । 

सोमबार, २२ बैशाख २०८२, १३ : ४९

प्रतिक्रिया