रिलायन्स स्पिनिङ मिल्सको नाफामा वृद्धि, आईपीओ प्रक्रिया भने रोकियो

बुधबार, २४ बैशाख २०८२, १५ : ३७

काठमाडौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ सय ३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको नाफा २ करोड ६३ लाख रुपैयाँ मात्र थियो। सञ्चालन आम्दानीमा आएको वृद्धिले नाफा बढ्न सहयोग पुगेको हो।

गत वर्षको ७ अर्ब २१ लाख आम्दानी बढेर ७ अर्ब ३९ करोड १७ लाख रुपैयाँ पुगेको छ। अन्य आम्दानी ४ करोड २ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च ४७ करोड २६ लाखबाट घटेर ३४ करोड ४२ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख रुपैयाँ छ भने अन्य इक्विटीमा ५ अर्ब ६६ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ। रिलायन्सको वार्षिक प्रतिसेयर आम्दानी २५.४९ रुपैयाँ पुगेको छ।

यस कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने तयारी गरिरहेको थियो। संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँमा आईपीओ खरिद गर्यो । तर, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरेर सेयर निष्कासन गर्ने क्रममा वित्तीय विवरण फरक देखिएपछि प्रक्रिया विवादमा पर्‍यो। 

सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डसँग स्पष्टीकरण माग गरेपछि बोर्ड सञ्चालक समितिको असार २६ गतेको बैठकले आईपीओ प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो।

बुधबार, २४ बैशाख २०८२, १५ : ३७

प्रतिक्रिया