काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने नेपाल मोबिलिटी एक्सपो २०२५ को बुकिङ खुल्ला गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ आगामी साउन २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले गरेको छ।
प्रदर्शनीमा सहभागिताको लागि वैशाख २२ देखि खुला भएको स्टल बुकिङ वैशाख २९ गते सम्म रहनेछ । इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाँडफाँट पारदर्शी लट्री प्रणाली मार्फत गरिने बताइएको छ ।
दुई र चारपांग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको आयोजकको बताएको छ । प्रदर्शनीको व्यवस्थापन र संयोजन मिडिया स्पेस सोलुसन्स प्रालिद्वारा गरिनेछ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्ने बताएको छ । अटोमोबाइल क्षेत्रमा क्रियाशील व्यवसायीहरुले केही समय पहिले मात्र नाइमाको स्थापना गरेका हुन् ।
प्रतिक्रिया