सिटिजन्स बैंक र म्यानबीच “अस्पायरिङ म्यानेजर अवार्ड” स्थापना गर्ने सहमति

विहीबार, २५ बैशाख २०८२, १६ : ११

काठमाडौं— सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच संयुक्त रूपमा “म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड” स्थापना गर्ने सहमति भएको छ। व्यवस्थापन शिक्षा क्षेत्रमा उत्कृष्टता देखाउने एम.बि.ए. विद्यार्थीलाई सम्मान गर्न यो अवार्ड सुरु गरिएको हो।

बैशाख २५ गते म्यानको कार्यालयमा आयोजित कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहन राज ओझाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यो अवार्ड पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिनेछ। पुरस्कार राशी ५१,००० रुपैयाँ तोकिएको छ, जसको प्रायोजन सिटिजन्स बैंकले गर्नेछ।

उत्कृष्ट विद्यार्थीको छनोटका लागि बैंक, विश्वविद्यालय र म्यानका प्रतिनिधिहरू सम्मिलित समिति गठन गरिनेछ। पुरस्कार म्यानद्वारा आयोजित वार्षिक म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा माघ महिनामा प्रदान गरिनेछ।

सिटिजन्स बैंकले विश्वास लिएको छ कि उक्त पुरस्कारले व्यवस्थापन शिक्षा क्षेत्रमा थप प्रतिस्पर्धात्मकता र प्रेरणा दिनेछ।

हालै बैंकले "बैंक अफ द इयर २०२४" अवार्ड जितेको छ भने फोनपेसँग सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” संचालनमा ल्याएको छ। मोबाइल एपमार्फत शेयर आवेदन र सीआरएन सेवा सुरु गर्दै बैंकले डिजिटल बैंकिङ्गमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

हाल बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ८६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

विहीबार, २५ बैशाख २०८२, १६ : ११

प्रतिक्रिया