महालक्ष्मी विकास बैंकद्वारा ‘स्क्यान टु क्यास’ सेवा सुरु

विहीबार, २५ बैशाख २०८२, १६ : ५७

काठमाडौं- महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम् अन्तर बैंक ‘स्क्यान टु क्यास’ सेवाको सुरुवात गरेको छ । 

यससँगै महालक्ष्मी विकास बैंक नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको छ ।

यसअन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैकिङ एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा दरबारमार्ग र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिने बैंकले जनाएको छ । यस सुविधाको विस्तार सँगै परम्परागत रुपमा चेक वा एटीएम कार्डको प्रयोग मार्फत नगद झिक्न पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । 

डिजिटल नवप्रवर्तन प्रतिको आफ्नो प्रतिबद्धतालाई थप मुजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा अलि पे प्लस नेटवर्क मार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा समेत यस अघि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतका मुलुकबाट आएका पर्यटकहरुले नेपाल पे क्यूआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रुपमा भुक्तनी गर्न सक्नेछन् ।

बैंकले हालै मात्र मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” पनि सञ्चालनमा ल्याएको छ ।

विहीबार, २५ बैशाख २०८२, १६ : ५७

प्रतिक्रिया