काठमाडौं— नविकरणीय ऊर्जाको प्रवर्द्धनमा क्रियाशील अर्गा भगवती भेन्चर्स प्रालि र कुमारी क्यापिटल लिमिटेडबीच सहकार्यका लागि सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार अर्गा भगवतीको सौर्य परियोजनालाई संस्थागत परामर्श सेवा अन्तर्गत सार्वजनिक निष्काशन, कम्पनी सूचिकरण र नियामक निकायहरूसँगको समन्वयमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो।
हाल अर्घाखाँची जिल्लामा निर्माणाधीन १० मेगावाटको नविकरणीय सौर्य ऊर्जा परियोजना द्रुत गतिमा अगाडि बढिरहेको कम्पनीले जनाएको छ। परियोजना छिट्टै सम्पन्न गरी उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमार्फत वितरण गर्ने लक्ष्य राखिएको छ। यसबाट देशको आर्थिक समृद्धिमा टेवा पुर्याउनुका साथै स्वच्छ वातावरण प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
वित्तीय व्यवस्थापनको पक्षमा अर्गा भगवतीले हालै मात्र प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत आवश्यक ऋण व्यवस्थापन प्रक्रिया सम्पन्न गरिसकेको जानकारी दिइएको छ।
सम्झौतामा अर्गा भगवती भेन्चर्सका सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा बीच हस्ताक्षर सम्पन्न भएको हो।
प्रतिक्रिया