नागरिक लगानी कोषले ९ महिनामा कमायो ८९ करोड नाफा

आइतबार, २८ बैशाख २०८२, १० : २९

काठमाडौं— नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा १.८८ प्रतिशतले बढेको हो। तर नाफा बढेपनि कोषको प्रतिसेयर आम्दानी (ईपीएस) घटेको देखिएको छ। अघिल्लो वर्षको यही अवधिमा २२ रुपैयाँ १४ पैसा रहेको ईपीएस यस वर्ष ३ रुपैयाँ ६५ पैसा घटेर १८ रुपैयाँ ४९ पैसामा झरेको हो।

विवरणअनुसार कोषको ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटेको छ भने सेवा शुल्क तथा कमिशनबाट आम्दानी १५.०६ प्रतिशतले बढेको छ। कुल आम्दानी ८.२३ प्रतिशतले वृद्धि हुँदा कुल खर्चमा भने उल्लेखनीय ३९.३६ प्रतिशतको वृद्धि भएको छ।

कोषको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा पुगेको छ भने मूल्य–आम्दानी (P/E) अनुपात १०५.१४ गुणामा उक्लिएको छ। हाल ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कोषको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको विवरणमा उल्लेख छ।

आइतबार, २८ बैशाख २०८२, १० : २९

प्रतिक्रिया