नेपाल फिनटेक फेस्टिवल २०२५ सम्पन्न

आइतबार, २८ बैशाख २०८२, १६ : ५९

काठमाडौं- ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’सम्पन्न भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्यसहित काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना भएको हो । 

कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय र फिनटेक नेतृत्व गरी करिब चारसय प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रमको मूल उद्देश्य नेपाललाई विश्व फिनटेक नक्शामा स्थापित गर्नु रहेको थियो । हो । दक्षिण एसियामा भारतबाहेक राष्ट्रिय फिनटेक कार्यक्रम आयोजना गर्ने नेपाल दोस्रो मुलुक बनेको छ । 

कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल र नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले मन्तव्य दिएका थिए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीको विकासमा योगदान पुर्याएको भन्दै फिनटेक अलायन्स नेपाल र काठमाडौं फिनटेकद्वारा संयुक्तरूपमा सम्मान पनि गरिएको थियो । यसैगरि सिंगापुरस्थित डीबीएस बैंकका पूर्वचिफ इनोभेशन अफिसर नील क्रसले सफल डिजिटल र सांस्कृतिक रूपान्तरणबारे मन्तव्य दिएका थिए । 

यस्तै, कार्यक्रममा डिजिटल बैंकिङ, साझेदारी रणनीति, क्यूआर प्रणालीपछिका नविनतम फिनटेक र वित्तीय सेवामा कृत्रिम बौद्धिकता (एआई) को भूमिका विषयमा प्यानल छलफल गरिएको थियो । 

नेपाल फिनटेक फेस्टिवल–२०२५ ले नेपाललाई दक्षिण एसियाली फिनटेक संवादको अग्रणी केन्द्र बनाउने दिशामा अगाडि बढाएको आयोजकको भनाइ छ । 

आइतबार, २८ बैशाख २०८२, १६ : ५९

प्रतिक्रिया