वसन्त ऋतुमा हिमाल आरोहणबाट उठ्यो ७७ करोड रोयल्टी

२६ हिमाल आरोहणका लागि एक हजार १२७ जनाले लिए अनुमति

सोमबार, २९ बैशाख २०८२, ०५ : ४८

काठमाडौं- यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी संकलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । 

सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् ।

विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समुहका १०२, ल्होत्सेमा  नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजंघामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन् ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य संख्यामा आरोही आउँछन् । आरोहण अनुमति  जारी रहेकाले अझै सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ ।

सोमबार, २९ बैशाख २०८२, ०५ : ४८

प्रतिक्रिया