प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने

सोमबार, २९ बैशाख २०८२, ११ : २७

काठमाडौं- नेपाल सरकारका सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली प्रदेश सरकारले अघि सारेको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने बताएका छन् ।

सोमबार नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो कार्यालय उद्घाटन गर्न सुर्खेत आएका गुरुङले डिजिटल कर्णाली बनाउन पूर्वाधार निर्माणमा सहयोग गरिने  बताए । 

फोन गर्न समेत डाँडाकाँडा र रुखमा जानुपर्ने अवस्था रहेको कर्णालीमा ‘डिजिटल कर्णाली’ कार्यक्रम ल्याइएको विषयलाई लिएर प्रदेश सरकारको आलोचना भइरहेको छ । अहिले पनि राजधानी वीरेन्द्रनगरमा पनि नेट, इन्टरनेटको सहज सुविधा छैन । सञ्चार मन्त्री गुरुङले पनि वडा वडामा इन्टरनेट नपुगेसम्म डिजिटल कर्णाली सम्भव नहुने बताए ।

‘सबै कुरा डिजिटल हुनका लागि त गाउँ—गाउँमा नेट, इन्टरनेटको विकास हुनुपर्‍यो, टावर निर्माण हुनुपर्‍यो,’ उनले भने, ‘तर कर्णालीमा त्यसको अवस्था कमजोर छ ।’ 

अभियान राम्रै भएकाले प्रदेश सरकारको उक्त अभियानलाई सार्थक बनाउन केन्द्र सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।  साथै उनले प्रत्येक प्रदेशमा डेटा सेन्टर सञ्चालनमा ल्याइने पनि बताए ।

सोमबार, २९ बैशाख २०८२, ११ : २७

प्रतिक्रिया