पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच वृद्ध अवस्थाको प्रवर्द्धनका लागि सम्झौता

विहीबार, ०१ जेठ २०८२, ११ : २४

काठमाडौं— ज्येष्ठ नागरिकहरूको सहयोगका लागि एक महत्वपूर्ण पहलस्वरूप पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेन प्रालिले वृद्धावस्थाको प्रवर्द्धन गर्ने उद्देश्यले आपसी सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उमेश सुवेदी र पुस्तान्तरण नेपालका कार्यालय प्रबन्धक त्रिलोचन सुवेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार इन्क्रेडिबल माउन्टेनले आफ्ना कुल नाफाको २ प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तान्तरण नेपालको स्वास्थ्य, समावेशीकरण, क्षमता विकास तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूमा सहयोग गर्नेछ। साथै, दुवै संस्थाले संयुक्त रूपमा ज्येष्ठ नागरिकहरूका लागि विशेष भ्रमण प्याकेजहरू र 'गरिमामय वृद्ध अवस्था' प्रवर्द्धन गर्न फन्डरेजिङ ट्रेकहरू आयोजना गर्नेछन्।

यस सहकार्यले जनचेतना अभिवृद्धि कार्यक्रम, क्षमता विकासका गतिविधि तथा ज्येष्ठ नागरिकहरूको जीवनस्तर सुधारका लागि आवश्यक संरचनात्मक सहयोगलाई समेत समेट्नेछ।

पुस्तान्तरण नेपालले नेपालमा सम्मानजनक वृद्धावस्था सुनिश्चित गर्न तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य, मनोसामाजिक सेवा, मनोरञ्जन, डे केयर सेवा लगायत विविध सहयोग प्रदान गर्दै आएको छ। संस्थाले निकट भविष्यमा “ज्येष्ठ नागरिक भिलेज” सञ्चालन गर्ने योजना समेत अघि बढाइरहेको जानकारी दिएको छ।

नेपाल बिस्तारै वृद्ध जनसंख्यातर्फ उन्मुख हुँदै गएको छ, र अधिकांश युवा रोजगारी तथा अवसरको खोजीमा विदेशिने क्रम बढ्दो छ। यस्तो परिस्थितिमा, गरिमामय वृद्ध अवस्थाको प्रवर्द्धन र ज्येष्ठ नागरिकहरूका लागि सहयोगी संरचना विकास गर्ने प्रयासहरू समयसापेक्ष र आवश्यक देखिएको छ।

ग्लोबल नेटवर्क अफ ओल्डर पिपल्सको सदस्य संस्थाको रूपमा पुस्तान्तरण नेपालले ज्येष्ठ नागरिकहरूका लागि नवीन प्रविधि र सीपहरू भित्र्याउने प्रयास गर्दै आएको छ।

विहीबार, ०१ जेठ २०८२, ११ : २४

प्रतिक्रिया