काठमाडौं– ग्रामीणदेखि शहरी क्षेत्रमा सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गरिरहेको गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाका दुई स्थान (विरुवा र अर्जुनचौपारी) मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बुधवार आयोजित समारोहमार्फत यी शाखाहरूको औपचारिक उद्घाटन गरिएको हो ।
विरुवा शाखाको उद्घाटन गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँड र विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले संयुक्त रूपमा गरे । त्यसैगरी अर्जुनचौपारी शाखाको उद्घाटन गरिमा विकास बैंकका अध्यक्ष खाँड र अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङले संयुक्त रूपमा गरेका हुन् ।
दुबै उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, व्यापारी, बुद्धिजीवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । शाखा उद्घाटनसँगै गरिमा विकास बैंकले स्थानीय बासिन्दा, व्यवसायिक प्रतिष्ठान, कम्पनी तथा संघ–संस्थाहरूलाई उच्चस्तरीय सेवा प्रवाह गर्दै सो क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ ।
गरिमा विकास बैंकले हालसम्म देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएममार्फत करिब ९ लाख ग्राहकलाई सेवा दिँदै आएको छ । निरन्तर सेवाविस्तारमार्फत ग्रामीण क्षेत्रका वित्तीय पहुँच अभिवृद्धि गर्दै आएको यस बैंकले आगामी दिनमा पनि उत्तरदायी बैंकिङ अभ्यासलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया