काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का कर्मचारीहरूले इन्टरनेसनल स्ट्यान्डर्ड आइडेन्टिफिकेसन नम्बर (आईजीन) र कोड प्रणालीको दुरुपयोग गरी अनियमित कमाइ गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
सेयर सूचीकरणको प्रक्रियामा संस्थापक र सर्वसाधारणका लागि अलग–अलग कोड र आईजीन दिनुपर्नेमा नेप्से र सीडीएससीका कर्मचारीहरूले व्यापारीसँग मिलेमतो गरी कतिपय कम्पनीलाई एउटै कोड र आईजीन प्रदान गरेको र यसैको आधारमा लकइन अवधि नखुलेको सेयर पनि बिक्री गरिएको उजुरीमा दाबी गरिएको छ।
अमर लम्सालले उजुरी दर्ता नम्बर सी–०६७३७० मार्फत अख्तियारमा उक्त गुनासो दर्ता गराएका हुन्।
उजुरीमा भनिएको छ, ‘एउटै कोड र आइजिन नम्बर दिएका कारण कतिपय लगानीकर्ताले जानाजान लकिङ पिरियड नखुल्दै आफुसँग भएको शेयर दोस्रो बजारमा बिक्री गरेको पाईएको छ भने एउटै कोड र आइजिनकै कारण कतिपयले भुलबस लकिङ समयावधिमा रहेको शेयर बिक्री गरेका छन्। जुन नेपालको शेयर बजारको दुर्भाग्य र नेप्सेले गर्दै आएको गैरकानुनी क्रियाकलाप भएको छ।’
लम्सालले अबदेखि सूचीकरण प्रक्रियामा रहेका सबै कम्पनीलाई दुई फरक–फरक कोड र आईजीन प्रदान गर्न, साथै अहिले एउटै कोड र आईजीन पाएका तर लकइन अवधि बाँकी रहेका कम्पनीहरूको विवरण सच्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने माग गरेका छन्।


प्रतिक्रिया