क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत

मंगलबार, ०६ जेठ २०८२, १२ : ०७

काठमाडौं- कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को वरिष्ठ उपाध्यक्षमा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी चुनिएका छन्। महासंघको कार्यसमितिले ६ जना कार्यसमिति मध्येबाट अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा छनोट गरेको हो।

क्यानको विधानअनुसार उपाध्यक्षहरू मध्येबाट एक जनालाई कार्यसमितिले वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था छ। कार्यसमितिमा सर्वसम्मतबाट उनलाई वरिष्ठ उपाध्यक्ष छनोट गरिएको हो।

२१ वर्षदेखि आइटी क्षेत्रमा कार्यरत अधिकारी साइबर सुरक्षा, नेटवर्किङ, सूचना सुरक्षा व्यवस्थापन, एआई क्षेत्रमा सक्रिय छन्। यस्तै कार्यसमिति बैठकले कोशी प्रदेशबाट ठाकुरकुमार श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नारायण श्रेष्ठ, संस्थागतबाट केशव भट्टराई र व्यक्तिगत समूहबाट दीपेन्द्र पौडेललाई सचिवमा चयन गरेको छ।

साइबर सुरक्षाका एक दूरदर्शी नेतृत्वकर्ता अधिकारी 

चितवनको भरतपुर महानगरपालिका निवासी अधिकारी साइबर सुरक्षा र नेटवर्किङ क्षेत्रमा उच्च विशेषज्ञता राख्ने व्यक्तित्वको रूपमा परिचित छन्। उनले सूचना सुरक्षा, आईटी शासन, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, र सूचना सुरक्षा व्यवस्थापन प्रणाली लगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनेकौं लेख प्रकाशन गरिसकेका छन्।

क्यान महासंघको वर्तमान वरिष्ठ उपाध्यक्ष र पूर्व महासचिव अधिकारी ईन्फरमेशन सेक्यूरिटी रेस्पोन्स टिम नेपालका निर्वतमान अध्यक्ष, सेन्टर फर साइबरसिक्योरिटी रिसर्च एन्ड इनोभेसनका संस्थापक अध्यक्ष र वन कभर प्रालि नामक अग्रणी साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत हुन्।

अधिकारी नेपाली युवालाई प्रविधिमा संलग्न गराउने तथा स्टार्टअप संस्कृति विकास गर्न क्रियाशील छन्। उनका पहलहरूले धेरै युवालाई प्रविधिमा करियर बनाउन उत्प्रेरणा प्रदान गरेको छ। आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्राप्त गरेपछि अधिकारीले उक्त सम्मानले आफूलाई अझ सक्रिय भएर देशको डिजिटल सुरक्षाका लागि कार्य गर्न प्रेरित गरेको प्रतिक्रिया दिएका थिए।

मंगलबार, ०६ जेठ २०८२, १२ : ०७

प्रतिक्रिया