नेपाल मोबिलिटी एक्स्पो २०२५ : स्टल बुकिङ बन्द, माग बढेपछि थप स्टल निर्माण

बुधबार, ०७ जेठ २०८२, ११ : ५६

काठमाडौं- नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (NAIMA) ले “Empowering Growth through Mobility” भन्ने नारासहित आयोजना गर्न लागेको नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि स्टल बुकिङ बन्द भएको छ।

यही साउन २१ देखि २५ गते (अगस्ट ६–१०, २०२५) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो प्रदर्शनीको तयारी अहिले तीव्र गतिमा भइरहेको छ। NAIMA का अनुसार पहिलो संस्करणकै प्रदर्शनीका लागि उद्योग क्षेत्रबाट आएको सहभागिता उल्लेखनीय रहेको छ। संघले आरम्भमा ४४ वटा स्टलको व्यवस्था गरेको थियो तर सहभागी कम्पनीहरूको चापका कारण ४८ वटा आवेदन प्राप्त भएपछि थप स्टल निर्माण गर्नुपरेको हो।

NAIMA की अध्यक्ष रितु सिंह वैद्यले प्रदर्शनीको बुकिङ प्रक्रिया बन्द भएको जानकारी दिँदै भनिन्, “हामीले सबै उद्योग सहभागीलाई समेट्नका लागि अतिरिक्त स्टलहरूको व्यवस्था गर्नुपर्‍यो। यो नेपालमा मोबिलिटी क्षेत्रमा देखिएको उत्साह र सम्भावनाको स्पष्ट संकेत हो।”

नेपाल मोबिलिटी एक्स्पो २०२५ ले परम्परागत अटो शोभन्दा फरक तरिकाले, प्रविधिनिर्भर, इन्टरएक्टिभ र उपभोक्तामैत्री अनुभव दिने उद्देश्य लिएको छ। आयोजकका अनुसार यो एक्स्पोले नेपालको विद्युतीय सवारी साधन, स्मार्ट मोबिलिटी समाधान र दिगो यातायात प्रणालीप्रतिको प्रतिबद्धतालाई उजागर गर्नेछ।

प्रदर्शनीको व्यवस्थापन र संयोजन मिडिया स्पेस सोलुसन्स प्रालिले गर्नेछ, जसले अघिल्लो दशकदेखि नेपालमा विभिन्न प्रमुख प्रदर्शनीहरू आयोजना गर्दै आएको छ।

एक्स्पोमा नेपालमा उपलब्ध चारपांग्रे, दुईपांग्रे र वाणिज्यिक सवारी साधनका अग्रणी ब्रान्डहरूको व्यापक सहभागिता रहनेछ। चारपांग्रे सवारीतर्फ BYD, Citroen, Hyundai, KIA, Mahindra, MG, Nissan, Toyota, Volkswagen लगायत २२ ब्रान्ड सहभागी हुँदैछन् भने दुईपांग्रे सवारीतर्फ Bajaj, Honda, KTM, Royal Enfield, TVS, Suzuki, NIU, Yadea लगायत १८ ब्रान्डहरू रहनेछन्। त्यस्तै वाणिज्यिक सवारी साधनका तर्फबाट Chery Wanda, Dongfeng, Kama, Karry लगायतका ब्रान्डहरू सहभागी हुनेछन्।

NAIMA ले यो एक्स्पोलाई नयाँ उत्पादन सार्वजनिक गर्ने, ब्रान्ड–ग्राहक संवाद गर्नेसहित नीति निर्मातासँग पनि छलफलको अवसर बनाउने उद्देश्य राखेको जनाएको छ। संघले निकट भविष्यमा प्रदर्शनीको विस्तृत तालिका, स्टल नक्शा र आगन्तुक दर्ता प्रक्रिया सार्वजनिक गर्ने जनाएको छ।

नेपालको मोबिलिटी क्षेत्रको भविष्यप्रति सकारात्मक संकेत बोकेको यो एक्स्पो साझा प्रवर्द्धन, समन्वय र व्यवसायिक सम्भावनाको केन्द्रबिन्दु बन्ने आयोजकको विश्वास छ।

बुधबार, ०७ जेठ २०८२, ११ : ५६

प्रतिक्रिया