काठमाडौं– युनाइटेड सिमेन्ट्स लिमिटेड र धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा सञ्चालित निःशुल्क तीन महिने आधारभूत र दुई महिने एडभान्स सिलाई–कटाई तालिम कार्यक्रम सम्पन्न भएको छ। तालिम समापन समारोह बुधबार धुनिवेशी नगरपालिकाको सभाहलमा आयोजना गरिएको थियो।
धुनिवेशी नगरपालिका वडा नं. ९, जुगेडीस्थित के एल दुगड समूहअन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ४२ जना स्थानिय महिलालाई लक्षित गर्दै तालिम संचालन गरेको हो। तालिमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउने र आर्थिक सशक्तिकरणमा सहयोग पुर्याउने रहेको थियो।
समापन कार्यक्रममा कम्पनी व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने बताउँदै युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरिकुमार उप्रेतीले भने, "यस्ता तालिमहरूले महिलाहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्याउँछ ।"
कार्यक्रमका सभापति तथा वडा अध्यक्ष माधव प्रसाद सिलवालले तालिममा सहभागी महिलाहरूको लागि यो प्रयास प्रेरणादायी भएको बताउँदै युनाइटेड सिमेन्ट्सलाई धन्यवाद ज्ञापन गरे। प्रमुख अतिथिका रूपमा सहभागी नगरप्रमुख बालकृष्ण आचार्यले यस्तो तालिम कार्यक्रमले स्थानीय तहमा महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।
तालिम कार्यक्रम २०८१ मंसिर १६ गतेदेखि सुरु भई २०८२ वैशाख २२ गतेसम्म सञ्चालन गरिएको थियो। समापन कार्यक्रम २०८२ जेठ ७ गते गरिएको हो।
युनाइटेड सिमेन्ट्स लिमिटेडले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै जाने प्रतिबद्धता गरेको छ।
प्रतिक्रिया