नेपालमा महिन्द्राका बीई६ र एक्सईभी ९ई ईभी लन्च हुँदै, मूल्य सार्वजनिक

आइतबार, ११ जेठ २०८२, १३ : ३९

काठमाडौं— महिन्द्राले आफ्ना दुई नयाँ इलेक्ट्रिक एसयूभी मोडेलहरू बीई६ (BE.06) र एक्सईभी ९ई (XUV 9EV) नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ।

भारतमा केही समयअघि लन्च गरिएका यी गाडीहरू अब नेपाली उपभोक्ताका लागि समेत उपलब्ध हुनेछन्। महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि इनर्जीले यी दुई मोडेलको भन्सार प्रयोजनका लागि मूल्य सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, बीई६ का दुई भेरिएन्टको मूल्य क्रमशः ७६ लाख ३० हजार रुपैयाँ र ८३ लाख ८० हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी, एक्सईभी ९ईका तीन भेरिएन्टको मूल्य ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार, र १ करोड ७ लाख रुपैयाँ रहने बताइएको छ। यद्यपि, लन्चिङको समयसम्ममा यी मूल्यहरूमा केही परिवर्तन हुन सक्ने संभावना रहेको कम्पनीले जनाएको छ। यी दुवै गाडीहरू हाल भारतीय बजारमा अत्यधिक चर्चा र लोकप्रियता कमाउन सफल भएका छन्।

नेपाली बजारमा पनि यी इलेक्ट्रिक गाडीहरू प्रति उपभोक्ताको आकर्षण उच्च हुने अपेक्षा गरिएको छ। कम्पनीले छिट्टै नेपालमा औपचारिक लन्च कार्यक्रममार्फत यी मोडेलहरू प्रस्तुत गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

बीई६ र एक्सईभी ९ई दुवै मोडेलमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ भने एक्सईभी ९ईको एक संस्करणमा १९९ किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। यसमा प्रयोग गरिएको एलएफपी (Lithium Iron Phosphate) केमिस्ट्रीयुक्त ब्याट्रीहरू ५९ किलोवाटदेखि ७९ किलोवाट क्षमताका छन्। यी ब्याट्रीहरूलाई अल्ट्रा फास्ट चार्जिङ प्रणालीले समर्थन गर्दछ, जसअन्तर्गत १७५ किलोवाट क्षमताको चार्जरमार्फत २० देखि ८० प्रतिशत चार्ज २० मिनेटमा गर्न सकिन्छ।

बीई६ र एक्सईभी ९ईको ५९ किलोवाट ब्याट्रीले २३१ एचपी पावर उत्पादन गर्छ भने ७९ किलोवाट ब्याट्रीले २८६ एचपी पावर र ३८० एनएम टर्क उत्पन्न गर्न सक्छ। यी दुवै इलेक्ट्रिक एसयूभी ०–१०० किलोमिटर प्रतिघण्टा स्पीड ६.७ सेकेन्डमै पुर्‍याउन सक्षम छन्।

बीई६ ले सिंगल चार्जमा ६८२ किलोमिटर तथा एक्सईभी ९ईले ६५६ किलोमिटर सम्म रेन्ज प्रदान गर्ने बताइएको छ। महिन्द्राले यी दुवै गाडीमा लाइफटाइम ब्याट्री वारेन्टी दिने घोषणा गरेको छ, जसले नेपाली ग्राहकबीच थप भरोसा र आकर्षण सिर्जना गर्ने विश्वास गरिएको छ।

आइतबार, ११ जेठ २०८२, १३ : ३९

प्रतिक्रिया