राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, गुणाकर भट्ट गभर्नर कार्यालयमा सरुवा

आइतबार, ११ जेठ २०८२, १६ : १३

काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । गभर्नर विश्वनाथ पौडेलले कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् ।

यसअघि आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ । गभर्नरका लागि रेसमा रहेका उनले दिएको राजीनामा अस्वीकृत गरी गभर्नर कार्यालयमा पठाइएको हो ।

त्यस्तै, अनुसन्धान विभागमा रिक्त कार्यकारी निर्देशकमा जनशक्ति व्यवस्थापन विभागका रामशरण खरेललाई ल्याइएको छ । खरेलको सरुवापछि रिक्त मानव संसाधन विभागमा विश्रुत थापालाई पठाइएको छ । उनी यसअघि बैंकिङ विभागमा थिए । 

शनिबार कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अनिवार्य अवकाश पाएसँगै गभर्नर कार्यालय रिक्त भएको थियो । यो सरुवातसँगै अब बैंकिङ कार्यालय रिक्त छ । उनको अवकाशसँगै रिक्त स्थानका लागि वरिष्ठ निर्देशक कार्यकारी निर्देशकमा बढुवा गर्ने व्यवस्था छ । यो रोलमा डिल्लीराम पोखरेल अगाडि छन् । 

बिहीबार डेपुटी गभर्नरहरूको जिम्मेवारी बाँडफाँड गरिएकोमा हाल कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको हो । अरू कार्यकारी निर्देशकको जिम्मेवारी भने यथावत् राखिएको छ ।

आइतबार, ११ जेठ २०८२, १६ : १३

प्रतिक्रिया