काठमाडौं— शौर्य सिमेन्ट इन्कर्पोरेटेड लिमिटेडको आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७, मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउन शौर्य सिमेन्टको योगदानको प्रशंसा गरे। उनले विद्यालयको संरचना निर्माण मात्र पर्याप्त नभई शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकहरूको सक्रियता आवश्यक रहेको बताए।
कार्यक्रममा शौर्य सिमेन्टका सीनियर भाइस प्रेसिडेन्ट राजन झाले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय तहसँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा योगदान दिँदै आएको बताए। उनले देशको समृद्धिका लागि आर्थिक र राजनीतिक दुवै क्षेत्र सबल हुनुपर्नेमा जोड दिए। साथै, निर्माण क्षेत्रको सम्भावित असर न्यूनीकरण गर्न कम्पनीले इन्जिनियरको टोली खटाएर अध्ययन र समाधानको पहल गरिरहेको जानकारी पनि दिए।
सो अवसरमा वडा अध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा शौर्य सिमेन्टको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै, खानी क्षेत्र नजिकको नदी उचाइ र सम्भावित जोखिमप्रति पनि सजग रहन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले शौर्य सिमेन्टले २०५६ सालदेखि विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै, शिक्षक व्यवस्थापनदेखि भौतिक सामग्रीसम्ममा प्राप्त सहयोगप्रति आभार प्रकट गरे। विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि उद्योगको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा उद्योगले विद्यार्थीहरूलाई खेलकुद र शैक्षिक सामग्री वितरण गर्नुका साथै सहभागी अतिथिलाई मायाको चिनो प्रदान गरेको ब्रान्ड प्रबन्धक अनुज महतले जानकारी दिए।
यस्तैगरी, सोही दिन वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र भवन पनि हस्तान्तरण गरिएको छ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले भवन हस्तान्तरणसँगै सेवा विस्तार सुरु हुने जानकारी दिए। मेयर श्रेष्ठले स्वास्थ्य पहुँचका लागि भवन महत्वपूर्ण हुने बताउँदै वडाध्यक्ष नविन्द्र तामाङले वडाको भूगोल ठूलो भएकाले यस्तो केन्द्रले सेवा वितरणमा सहजता ल्याउने विश्वास व्यक्त गरे। उनले वडालाई एम्बुलेन्सको पनि आवश्यक रहेको औंल्याए।
शौर्य सिमेन्टद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो योगदानले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा समुदाय हितका विविध सामाजिक कार्यहरूमा निरन्तर सहकार्य र योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया