काठमाडौं— स्याङ्जा जिल्लाका वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकामा कृषक र उद्यमीहरूलाई लक्षित गर्दै सहुलियतपूर्ण कृषि कर्जा प्रवाहमा बैंकहरूले सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
कृषकहरूले सहज रूपमा कृषि कर्जा नपाएको गुनासोपछि बैंक प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।
वालिङमा आयोजित छलफल कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख लेखनाथ भट्टराईले कृषकहरूमा ऋणसम्बन्धी जानकारीको अभाव रहेको उल्लेख गर्दै वित्तीय साक्षरता अभिवृद्धिका लागि पालिकासँग सहकार्य गर्ने बताए। कृषि विकास बैंक वालिङका प्रमुख यमप्रसाद आचार्यले वास्तविक कृषकलाई ऋण प्रवाह गर्न प्रतिबद्ध रहेको र बैंकको कुल लगानीको २५ प्रतिशत कृषि क्षेत्रमा लगानी भइरहेको जानकारी दिए।
नेपाल बैंक वालिङका प्रमुख दर्शना भट्टराईले ऋण लिएर कृषि कर्ममा नलाग्ने प्रवृत्ति बढेको उल्लेख गर्दै कृषि कर्म गर्न चाहनेहरूलाई सहयोग गर्ने बताए। वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले एनएम्बी खेती कर्जा अन्तर्गत बिना धितो रु २ लाखसम्म कर्जा प्रवाह सुरु गरिएको जानकारी दिइन्।
यस कार्यक्रम हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालित कृषि विकास परियोजनामा आवद्ध ४,०९९ कृषक परिवारलाई लक्षित गरिएको थियो। बैङ्क प्रतिनिधिहरूले सहुलियतपूर्ण कर्जा प्रवाह र परिचालनका बारेमा जानकारी दिएका थिए।
प्रतिक्रिया