काठमाडौं- आर्थिक संकटसँग जुधिरहेको जापानी अटोमोबाइल कम्पनी निसानले ठूलो मात्रामा खर्च कटौतीको योजना अघि सारेको छ।
कम्पनीले लागत घटाउने उद्देश्यले विश्वभर रहेका १७ मध्ये ७ वटा उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गरिसकेको छ भने अब जापानको योकोहामास्थित आफ्नो ग्लोबल हेडक्वाटर पनि बिक्री गर्ने तयारीमा छ।
निसानले सन् २००९ मा झण्डै २ वर्ष लगाएर निर्माण गरेको उक्त हेडक्वाटरको लागत १०० बिलियन यन (झण्डै ७०० मिलियन अमेरिकी डलर) रहेको थियो। यस्तो महँगो सम्पत्ति बिक्रीको निर्णयले कम्पनी गम्भीर आर्थिक संकटमा परेको संकेत गर्छ।
यद्यपि, कम्पनीले हेडक्वाटर बिक्री गरे पनि त्यसै भवनलाई भाडामा लिएर कार्यालय सञ्चालन गर्ने शर्त राखेको छ। कम्पनीले यो निर्णय यस वर्ष मार्चमा तयार गरिएको सम्पत्ति बिक्री सूचीमा समेटेको हो।
निसानले पछिल्लो वर्ष मात्रै ४.५ बिलियन अमेरिकी डलर बराबरको घाटा व्यहोरेको थियो। सोही कारण कम्पनीले २० हजार कर्मचारी कटौतीका साथै केही नयाँ मोडलको विकास पनि रोक्ने घोषणा गरेको छ।
साथै, अनुसन्धान तथा विकास विभागका ३ हजार कर्मचारीलाई अन्य विभागमा स्थानान्तरण गरिएको छ।
प्रतिक्रिया