नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

शनिबार, १७ जेठ २०८२, १० : ०९

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, र अनुपालन विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेप्सेका प्रबन्धक लीलाधर सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ अधिकृत सन्तोष आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर) का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो।

समारोहका प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यमा उनले अर्थतन्त्रमा वित्तीय क्षेत्रमा हुने क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने हुनाले वित्तीय बजारमा नियमन र सुपरिवेक्षणमा राज्यले विशेष महत्व दिने बताए । ‘धितोपत्र बजार सम्बन्धमा पनि विभिन्न नियामकीय व्यवस्थाहरु गरिएका छन् । बजार सहभागीहरुलाई नियमन र सुपरिवेक्षणको साथसाथै क्षमता अभिवृद्धि गर्न यस प्रकारका कार्यक्रमहरु पनि निरन्तर सञ्चालन भइराख्नु पर्दछ,’ उनले भने ।

कार्यक्रमका सभापति तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईले प्रविधि, सुशासन र अनुपालन हाल पुँजी बजारको सबैभन्दा महत्वपूर्ण विषय भएकाले सोलाई ध्यानमा राखी कार्यक्रमका आयोजना गरिएको बताए ।

सहआयोजक संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जमा पछिल्लो समयमा देखिएका सकारात्मक परिवर्तनको चर्चा गरेका छन्।

शनिबार, १७ जेठ २०८२, १० : ०९

प्रतिक्रिया