क्यानडाको क्यालगरीमा सगरमाथा दिवस विशेष कार्यक्रम सम्पन्न

आइतबार, १८ जेठ २०८२, ११ : ०९

काठमाडौं— सगरमाथा दिवस २०२५ को अवसरमा क्यानडाको क्यालगरी शहरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ। अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजनमा, क्यालगरीस्थित नेपाली सामुदायिक संस्था एनसीएससी र गैर आवासीय नेपाली संघ क्यानडाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता च्याम्बरका अध्यक्ष समीर पाण्डेले गरे भने सञ्चालन सचिव किरण खरेलले गरेका थिए। प्रमुख अतिथिमा दुई पटक सगरमाथा आरोहण गरिसकेका अल्बर्टाका पूर्व मन्त्री तथा सांसद डेभ रोड्नी र सुप्रसिद्ध सगरमाथा आरोही मींग्मा तेन्जिंग शेर्पा उपस्थित थिए।

रोड्नीले आफ्नो सगरमाथा आरोहणको प्रेरणादायक अनुभव प्रस्तुत गर्दै सहभागीहरूलाई उत्साहित बनाए भने शेर्पाले हिमालय क्षेत्रको महत्वमाथि प्रकाश पारे।

नेपाल र क्यानडाका राष्ट्रिय गानबाट कार्यक्रमको उद्घाटन गरिएको थियो। सांस्कृतिक माहोल थप जीवन्त बनाउने गरी नेपाली सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरियो। अतिथिहरूलाई खादा र सम्मानपत्र प्रदान गरिएको थियो।

क्यानडास्थित नेपाली राजदूत भरतराज पौडेलको भिडियो शुभकामना सन्देश कार्यक्रममै प्रस्तुत गरिएको थियो। त्यसैगरी नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी अफ नेपाल (TAN), र त्रिभुवन विश्वविद्यालयको पर्यटन विभागबाट आएका भिडियो सन्देशहरू पनि देखाइएका थिए।

नेपालको पर्यटन प्रवर्द्धनका लागि अल्बर्टा नेपाल च्याम्बर र नेपालका तिनवटा सम्बन्धित संस्थाबीच सहकार्यका लागि द्विपक्षीय सम्झौता भइसकेको जानकारी पनि कार्यक्रममा दिइएको छ ।

कार्यक्रममा क्यालगरीस्थित नेवा: समाज, तामाङ समाज, मगर समाज र सिनियर सोसाइटी अफ क्यालगरी (TSS) का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य च्याम्बर अध्यक्ष समीर पाण्डेले राखे भने एनसीएससी अध्यक्ष प्रकाश बस्याल, एनआरएन अध्यक्ष माधव दुलाल र नेपाली मेला २०२५ का संयोजक श्रीकान्त अर्यालले शुभकामना मन्तव्य राखे।

नेपालको हिमाली क्षेत्र, विशेष गरी सगरमाथाको ऐतिहासिक र सांस्कृतिक महत्वबारे च्याम्बरका उपाध्यक्ष दिवस ढकालले रोचक प्रस्तुति दिए। कार्यक्रमको प्राविधिक संयोजन विक्रम अधिकारीले र व्यवस्थापन जिम्मेवारी अनन्त आचार्यले सम्हालेका थिए।

आइतबार, १८ जेठ २०८२, ११ : ०९

प्रतिक्रिया