राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकोमा नाट्टाको असन्तुष्टि

आइतबार, १८ जेठ २०८२, १३ : ३१

काठमाडौं- नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई भाडादरमा लाग्ने भ्याट नहटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । नाट्टाले  विज्ञप्ती जारी गर्दै आव २०८२/८३ को वार्षिक बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

“दुई वर्षदेखि निरन्तर रुपमा सरकारसमक्ष उठाइएका विविध विषयमध्ये विशेषतःराष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी जटिल र प्रतिकूल व्यवस्थालाई निरन्तर बेवास्ता गर्दै आइएको अवस्थामा, यस वर्ष पनि सो कर कायम राखिएकामा पर्यटनसम्बद्ध सरोकार भएका सबैलाई स्तब्ध बनाएको छ”, विज्ञप्तीमा भनिएको छ ।

प्रस्तुत बजेटले पर्यटन क्षेत्रका विभिन्न पक्षमा सकारात्मक नीति र व्यवस्था ल्याएको देखिएको बताउँदै नेपाल प्रवेशको सुरुआती चरणमा पर्ने हवाई सेवामा प्रत्यक्ष असर गर्ने भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी प्रबन्धले पर्यटकको आवागमनमा निरुत्साहित गरेको विज्ञप्तीमा उल्लेख छ । 

नाट्टाले अर्थमन्त्री, पर्यटनमन्त्री, सांसद तथा विभिन्न राजनीतिक दलका नेताले सार्वजनिक मञ्चमा हवाई भाडामा लाग्ने भ्याट अत्यन्त अनुचित रहेको बताएको छ । यसले अन्तर्राष्ट्रिय मूल्य मान्यतासँग मेल नखाने, पर्यटन प्रवद्र्धनमा प्रतिकूल असर पार्ने र भौगोलिक रुपमा विकट क्षेत्रमा रहेका नेपालीको हवाई पहुँचमा बाधा पुर्याउने भन्दै भ्याट खारेजीका पक्षमा धारणा राख्दै आएपनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

आइतबार, १८ जेठ २०८२, १३ : ३१

प्रतिक्रिया