ट्रायम्फ नेपालद्वारा एपिक राइडको भिडियो सार्वजनिक गर्दै “म्युजिक नाइट” सम्पन्न

सोमबार, १९ जेठ २०८२, ११ : ४७

काठमाडौं– ट्रायम्फ नेपालले नक्सालस्थित बाइकर्स क्याफेमा “म्युजिक नाइट” आयोजना सम्पन्न गरेको छ।

बाइक र संगीतप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उत्साहजनक कार्यक्रम “म्युजिक नाइट” आयोजना गरिएको हो । यस साँझमा १५० भन्दा बढी ट्रायम्फ राइडरहरू, मोटरसाइकलप्रेमीहरू तथा संगीतप्रेमीहरू सहभागी थिए।

कार्यक्रमको मुख्य आकर्षण भनेको “एपिक राइड: एकोस अफ द लस्ट किङ्गडम” को अफिसियल भिडियो प्रिमियर थियो। यो भिडियोले ट्रायम्फ नेपालको एपिक राइड यात्रालाई समेटेको छ, जहाँ ३८ जना ट्रायम्फ राइडरहरूले ८ दिनमा काठमाडौँदेखि अपर मुस्ताङको ऐतिहासिक ठाँउ लोमान्थाङसम्म करिब १,००० किलोमिटर यात्रा गरेका थिए।

मन्दिर, अग्ला भञ्ज्याङहरू हुँदै मनमोहक दृश्यहरूका साथ गरिएको यात्राका क्रममा खिचिएको भिडियोले साहस, मित्रता र सहकार्य मिश्रित ट्रायम्फ राइडिङ जीवनशैलीलाई गहिरो रूपमा प्रस्तुत गरेको छ । कार्यक्रममा चर्चित ब्याण्ड ‘प्रश्नचिन्ह’ को दर्शक झुमाउने लाइभ प्रस्तुतिका साथै रमाइला खेलहरू, ओपन माइक सेसनहरू पनि भएका थिए जसले ट्रायम्फ राइडरहरूबीच आपसी भेटघाट तथा मनोरञ्जनको राम्रो वातावरण सिर्जना गरेको थियो ।

कार्यक्रमको बारेमा बोल्दै,ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने, “म्युजिक नाइट” केवल रमाइलोका लागि मात्र नभएर, ट्रायम्फ राइडरहरूबीचको एकता र आत्मीयताको प्रतीक पनि हो । जब कुनैपनि उद्देश्य प्राप्तिका लागि साहस गरिन्छ तब के प्राप्त गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो ‘एपिक राइड’, र यस्तै साहसी राइड अयोजना गर्न पाउँदा हामी गाैरवान्वित छाैं ।”

अविस्मरणिय अनुभवमार्फत नेपालमा साहसिक र समावेशी राइडर कम्युनिटी बनाउने उद्देश्यका निम्ती यो “म्युजिक नाइट” एउटा कोशेढुङ्गा बनेको ट्रायम्फ नेपालले जनाएको छ । 

सोमबार, १९ जेठ २०८२, ११ : ४७

प्रतिक्रिया