काठमाडौं- ज्योति विकास बैंकले रोल्पा जिल्लाको माडी गाउँपालिका–२ स्थित घर्तिगाउँ स्वास्थ्य चौकीलाई जीवनरक्षक ‘बेबी वार्मर’ मेसिन हस्तान्तरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राख्न र हाइपोथर्मियाको जोखिमबाट जोगाउन प्रयोग हुने उक्त मेसिन प्रदान गरेको हो।
बैंकले रोल्पा जिल्लाको घर्तिगाउँसँगै, गुल्मीको पुर्तिघाट र स्याङ्जाको अर्जुनचौपारी हेल्थ पोस्टमा पनि बेबी वार्मर जडान गरेको छ।
बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशल जंग अधिकारीको नेतृत्वमा सो उपकरणहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। स्वास्थ्यकर्मीहरूलाई बेबी वार्मरको सही प्रयोगबारे विज्ञमार्फत विशेष तालिम पनि दिइएको थियो।
बैंकले सामाजिक उत्तरदायित्व प्रयोजनका लागि स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत हालसम्म देशभर ६२ वटा बेबी वार्मर वितरण गरेको जनाएको छ।
ग्रामीण क्षेत्रमा हाइपोथर्मिया दर उच्च रहेको र यसको प्रतिकूल असर शिशुहरूको जीवितदरमा देखिने तथ्यलाई मध्यनजर गर्दै बैंकले दुर्गम भेगका हेल्थ पोस्टहरूमा सेवा विस्तार गर्दै आएको हो।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा, ३ वटा एक्सटेन्सन काउन्टर र ७५ वटा एटीएममार्फत सेवा दिइरहेको छ।
प्रतिक्रिया