मुद्दति निक्षेपमा ३ अर्ब १४ करोड लगानी गर्दै राष्ट्र बैंक

मंगलबार, २० जेठ २०८२, १६ : १७

काठमाडौं- नेपाल राष्ट्र बैंकले ३ अर्ब १४ करोड २ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । 

राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ५१ करोड २२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४७ करोड १० लाख तथा वित्त कम्पनीहरुमा १५ करोड ७० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ । 

आगामी जुन १७ देखि लागू हुनेगरी सन् २०२६ जुन १७ सम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । 

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित जेठ २२ गते राति १२ बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । 

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्यूनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको लगायतका शर्तहरु तोकिएको छ ।
 

मंगलबार, २० जेठ २०८२, १६ : १७

प्रतिक्रिया