काठमाडौं- ल्याण्ड क्रुजर प्राडोको ग्लोबल डेब्यूपछि टोयोटाले अर्को नयाँ रग्ड लाइफस्टाइल एसयूभी ‘एफजे क्रुजर’को टिजर सार्वजनिक गरेको छ।
बक्सी डिजाइनमा प्रस्तुत भएको यस कम्प्याक्ट एसयूभीले विश्वभरि उत्साहित ग्राहकको ध्यान तानेको छ।
टोयोटाको नयाँ मोडलले सन् १९५५ को क्लासिक एफजे २० बाट प्रेरणा लिएको बताइन्छ। यसको डिजाइनमा कडा र स्टाइलिश तत्त्वहरू समेटिएको देखिन्छ। टोयोटाको हाइलक्स, फर्चुनर र इनोभा क्रिस्टा जस्ता आइएमभी ल्याडर फ्रेम च्यासिसमा आधारित हुने यो एसयूभीको निर्माण हुनेछ भन्ने रिपोर्टहरू सार्वजनिक भएका छन्।
टोयोटाले यसमा करिब २७५० एमएमको ह्वीलबेस दिने तयारी गरेको छ। इन्जिन अप्सनको कुरा गर्दा यो मोडल २.० लिटर र २.७ लिटर पेट्रोल इन्जिनका साथै २.८ लिटर डिजेल इन्जिन अप्सनमा पनि आउने अनुमान गरिएको छ।
यसको बजारमा आउने मिति र मूल्यबारे भने हालसम्म कुनैपनि आधिकारिक जानकारी दिइएको छैन ।
प्रतिक्रिया