लक्ष्मी सनराइज बैंकद्वारा कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक

मंगलबार, २७ जेठ २०८२, ११ : ४८

काठमाडौं- लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । 

बैंकले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रतिको प्रतिबद्धतालाई पुष्टि गर्दै जिम्मेवार बैंकिङको अभ्यास अपनाउने पहल अन्तर्गत प्रतिवेदन सार्वजनिक गरेको हो । 

कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ । मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन सीओटु बराबर (टीसीओटुइ) रहेको थियो ।

पोर्टफोलियो अनुसार व्यापार कर्जा १९०, २९३.४२ टीसीओटुइ, परियोजना वित्त (जलविद्युत बाहेक) ७०५.५६ टीसीओटुइ, गाडी कर्जा १,५२८.९८ टीसीओटुइ र घर कर्जा ९४८५.४६ टीसीओटुइ रहेको छ ।

त्यस्तै बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरुले अनुमानित २०,३४७.११ बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाइ थप जोड दिएको छ ।

सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्य अनुरूप, बैंकले ग्रीन फाइनान्स, ऊर्जा–सदुपयोगी कर्जाहरु तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरु विस्तार गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण (थ्रीआर–रिड्युस, रियूज र रिसाइकलिन) लाई प्रोत्साहन गर्दै आएको छ।

यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १० हजार रूख रोप्ने साहसी पहल ‘मिसन १००००’ पनि सञ्चालन गरेको छ। यस अन्गर्गत बैंकले हालसम्म लगभग ७ हजार ५०० रूखहरू रोपिसकेको छ 

मंगलबार, २७ जेठ २०८२, ११ : ४८

प्रतिक्रिया