सन् २०३० भित्र २६ मोडेल ल्याउने हुन्डाईको योजना, हाइब्रिड र स्केटबोर्ड ईभी आउने

मंगलबार, २७ जेठ २०८२, १६ : २३

काठमाडौं— हुन्डाईले सन् २०३० सम्म भारतीय बजारमा २६ नयाँ मोडेलहरू सार्वजनिक गर्ने योजना बनाएको छ। 

यसमा इन्ट्री लेभल ह्याचब्याकदेखि प्रिमियम हाइब्रिड एसयूभी र स्केटबोर्ड प्लेटफर्ममा आधारित ईभीसम्म समेटिने कम्पनीले जनाएको छ।

रिपोर्टहरू अनुसार २६ मोडेलमध्ये ७–८ वटासम्म ‘अल–न्यू’ मोडेल हुनेछन् भने बाँकी हाल बिक्रीमा रहेका मोडेलहरूको फेसलिफ्ट र नयाँ भेरियन्ट रहनेछन्।

हुन्डाईले २०२५ को अक्टोबरमा भेन्यूको नयाँ जेनेरेशन लन्च गर्ने तयारी गरिरहेको छ। त्यसपछि २०२६ को मध्यतिर उसले वेयोन नामक नयाँ क्रसओभर सार्वजनिक गर्नेछ, जुन आई२० को प्लेटफर्ममा आधारित हुनेछ र क्रेटाको भन्दा सानो एसयूभी हुने बताइएको छ । 

एक्स्टर फेसलिफ्ट र अपडेटेड भर्ना २०२६ को अप्रिलसम्म बजारमा आउने अनुमान गरिएको छ भने आई२० र अल्काजारको नयाँ जेनेरेशन २०२८ भित्र लन्च हुने बताइएको छ।

२०२६ को अन्त्यसम्ममा हुन्डाईले मास–मार्केटका लागि पहिलो इलेक्ट्रिक ह्याचब्याक ल्याउने योजना बनाएको छ, जसको मूल्य १० देखि १५ लाख भारतीय रुपैयाँसम्म रहने अनुमान छ। यो मोडेलले टाटा पञ्च ईभीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ। यी बाहेक कम्पनीले ४०० भोल्ट आर्किटेक्चरमा आधारित एक नयाँ मिड साइज इलेक्ट्रिक एसयुभी पनि लन्च गर्ने योजना बनाएको छ ।

आफ्नो पहिलो हाइब्रिड मोडलका रुपमा प्यालिसेडलाई उतार्ने तयारी गरिरहेको हुन्डाईले २०२८ भित्रै क्रेटाको नयाँ जेनेरेशन र हाइब्रिड भर्सन समेत लन्च गर्ने तयारी गरेको हो।

मंगलबार, २७ जेठ २०८२, १६ : २३

प्रतिक्रिया