ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, यती एअरलाइन्सको पहिलो टिकट निःशुल्क पाइने

विहीबार, २९ जेठ २०८२, १० : ४९

काठमाडौं- ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँग सहकार्य गर्दै ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सार्वजनिक गरेको छ ।

राजधानीमा आयोजित  कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रूपमा यो कार्ड सार्वजनिक गरेका हुन् ।

यो नयाँ कार्डमार्फत ग्राहकले यती एअरलाइन्सको पहिलो टिकट खरिद गर्दा पूर्ण क्यासब्याक पाउने छन्, जसको अर्थ पहिलो उडान निःशुल्क हुनेछ । त्यसपछि पनि कार्ड प्रयोग गरेर टिकट खरिद गर्दा अधिकतम पाँच सय रुपैयाँसम्म १० प्रतिशत छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

यो कार्ड यात्राका लागि मात्र नभई बैंकिङ्ग फाइदासमेत जोडिएको सेवा हो। ग्राहकले कार्ड जारी गर्दा एक सय बोनस प्वाइन्ट प्राप्त गर्नेछन्, जुन भविष्यमा छुट, पुरस्कार वा सेवा खरिदमा प्रयोग गर्न सकिनेछ । यस्तै, कार्ड प्रयोग गरेर एइक् मेसिन वा ई–कमर्स प्लेटफर्ममार्फत कारोबार गर्दा प्रत्येक एक सय रुपैयाँमा एक माइलेज प्वाइन्ट प्राप्त हुनेछ। यसले डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै ग्राहकलाई निरन्तर फाइदा दिनेछ ।

यात्रुका लागि थप सुविधासमेत समावेश गरिएको छ । कार्डबाहकले विमानस्थलमा प्राथमिकता प्राप्त गर्नेछन्, जसअन्तर्गत चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटो हुनेछ। यती एअरलाइन्समार्फत यात्रा गर्दा कार्डबाहकले अधिकतम तोकिएको सीमा भन्दा पाँच किलोग्राम बढी लगेज लैजान सक्नेछन्, जुन सुविधा बारम्बार यात्रा गर्ने वा भारी सामान बोकेर यात्रा गर्ने यात्रुका लागि उपयोगी हुनेछ ।

ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले यो सहकार्यले डिजिटल कारोबार र ग्राहक–मैत्री सेवा विस्तारमा मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । उनले बैंक सधैं प्रविधिमा आधारित नयाँ योजना ल्याउँदै आएको उल्लेख गरे । 

यस्तै यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले भने, ग्लोबल आइएमई बैंकसँगको सहकार्यबाट दुवै संस्थाका ग्राहक प्रत्यक्ष लाभान्वित हुने बताएका छन्। भविष्यमा अझ परिस्कृत सेवा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे ।

विहीबार, २९ जेठ २०८२, १० : ४९

प्रतिक्रिया