काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि चाडै तयार गर्न मन्त्रालयका सचिव,महानिर्देशक,महाशाखा प्रमुख एवं मातहतका कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज बसेको मन्त्रालयका उच्च नेतृत्वको बैठकमा मन्त्री अधिकारीले स्थानीय तहमा सशर्त सञ्चालनमा रहेका कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । पालिकाहरूमा कृषि तर्फ गएको रकम ठिक डङ्गबाट खर्च भएको छ छैन,त्यसको प्रतिफल कस्तो र कुन अवस्थाको छ ।
कार्यान्वयनका लागि भएका जटिलताहरूको जानकारी लिन आवश्यक छ भन्दै मन्त्री अधिकारीले यसका लागि सबै पालिकाहरूमा सम्भव नभए पनि प्रतिनिधिमूलक रूपमा पालिका छनौट गरेर सहसचिवको नेतृत्वमा अनुगमन तथा मूल्याङ्कनको व्यवस्था मिलाउन आवश्यक रहेको बताए । तल्लो तहसम्म मन्त्रालय र अन्तर्गतका निकायहरूको सेवा सरल र सहजरुपमा पुग्न आवश्यक रहेकोमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि मन्त्रालयका संयन्त्रहरूको प्रभावकारी परिचालनको आवश्यकता छ, भने ।
हाल चैते धान न्यूनतम समर्थन मूल्य भन्दा ज्यादै कम मूल्यमा विक्री गर्नुपरेको किसानहरूको गुनासो आएकाले यसलाई सम्बोधन गर्नका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न पनि मन्त्री अधिकारीले निर्देशन दिएका छन् ।गाई भैँसीमा लाग्ने लम्की स्किन र अफ्रिकन स्वाइन फिभर नियन्त्रणका लागि हाल भइरहेका प्रयास, दुग्ध किसानलाई दूधको रकम भुक्तानीका लागि भएका प्रयास र हालको अवस्था , रासायनिक मल आयात र वितरणको अवस्थाका बारेमा बैठकमा मन्त्री अधिकारीले जानकारी लिएका थिए ।
बैठकमा हाल पपकर्नको आयात अस्वाभाविक देखिएको भन्दै नेपाल हुँदै तेस्रो मुलुक निर्यात हुन सक्ने भएकाले यसलाई कडाई गर्न पनि मन्त्री अधिकारीले निर्देशन दिए । अघिल्लो वर्ष १ अर्बको पपकर्न आयत भएकोमा चालु आर्थिक वर्षमा बढेर ३ अर्ब ९४ करोडको आयत भएको देखिएको छ ।
त्यस्तै, मन्त्री अधिकारीले प्लान्ट क्वारेण्टाईन तथा विषादी व्यवस्थापन केन्द्रलाई फुल तथा फलफूलका बिरुवाजन्य उत्पादनको आयात रोकी स्वदेशी उत्पादनलाई प्रोत्साहन एवं नर्सरीलाई प्रवर्द्धन गर्न निर्देशन दिए । बैठकमा मन्त्रालयका सचिव कृषि विकास तर्फ डा।गोविन्द प्रसाद शर्मा र पशुपन्छी विकास तर्फ डा.दीपक कुमार खराल सहित विभाग,महाशाखा एवं कार्यालय प्रमुखहरूले सम्बन्धित विषयको जानकारी गराएका थिए ।
प्रतिक्रिया