नेपाल बैंकर्स संघद्वारा गभर्नरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

शनिबार, ३१ जेठ २०८२, १७ : ११

काठमाडौं- नेपाल बैंकर्स संघले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई बिदाइ तथा नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । उनले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयको स्मरण गर्दै, त्यस्तो कठिन अवस्थामा पनि बैंकहरूले देखाएको सफल नेतृत्वका लागि धन्यवाद व्यक्त गर्दै अर्थतन्त्रको स्थायित्वमा पुर्‍याएको सकारात्मक योगदानको प्रशंसा गरे ।

उनले महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि नभई, सम्पूर्ण बैंकिङ क्षेत्रको सहकार्य र साझा प्रयासको परिणाम भएको बताए ।

निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालको अनुभव र सिकाइ साट्दै विगतका केही निर्णयहरू कठिन भए तापनि, ती निर्णयहरू दीर्घकालीन सुधारका लागि आवश्यक भएको बताए ।

नेपालको बैंकिङ क्षेत्रले विगतको गल्तीहरू बाट सिक्दै भविष्यमा त्यस्ता गल्तीहरू दोहोरिन नदिनतर्फ सतर्क रहनुपर्ने बताए । उनले भविष्यमा आवश्यक परेमा बैंकिङ क्षेत्रलाई आफ्नो ज्ञान, अनुभव तथा सल्लाहमार्फत सघाउन आफू सधैं तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निवर्तमान गभर्नरप्रति कृतज्ञता प्रकट गर्दै नव नियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना दिए । कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू, नायब कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो।

शनिबार, ३१ जेठ २०८२, १७ : ११

प्रतिक्रिया