बैंकिङ क्षेत्रको सुधारका लागि उपसमिति गठन गर्नु राष्ट्र बैंकको ऐतिहासिक कदम : सिबिफिन

आइतबार, ०१ असार २०८२, १३ : २२

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रका समस्या समाधानका लागि गठन गरेको सुझाव उपसमितिलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकको ऐतिहासिक कदम भएको बताएको छ ।  

सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै नवनियुक्त गभर्नरको पहलमा पहिलोपटक बैंकिङ क्षेत्र सुधार केन्द्रित उपसमिति गठन गर्नु नेपालकै बैंकिङ इतिहासमा ऐतिहासिक रहेको जनाएको हो।

गभर्नरको दीर्घदृष्टि, स्थल भ्रमण, व्यवस्थापन तथा सुपरिवेक्षण सुधारका प्रयास, विगतका नीतिहरुको समिक्षा, हालैको वित्त नीतिको मर्म र आवश्यकताको आधारमा समयसापेक्ष मौद्रिक नीति निर्माणका प्रयासबाट मुलुक आर्थिक तथा बैंकिङ सुधारको दिशामा अघि बढेको विश्वास सिबिफिनले विज्ञप्तिमा व्यक्त गरेको छ।

बैंकिङ तथा आर्थिक क्षेत्रका वस्तुगत समस्या तथा चुनौती समाधान गर्न बनाइएको उपसमितिमा केन्द्रीय बैंक बाहिरका अनुभवी तथा निजी क्षेत्रका विषयविज्ञहरूको सहभागिता रहेको भन्दै सिबिफिनले यो समिति वित्तीय प्रणालीको पीडाबिन्दु पहिचान गरी ठोस नीति सुझाव दिनेमा विश्वास गरेको छ।

सिबिफिनले उपसमितिद्वारा गरिने अध्ययन, अनुसन्धान, छलफल र संवादमा सक्रिय सहभागिता जनाउने र तर्कपूर्ण सुझाव प्रस्तुत गर्ने प्रतिवद्धता जनाएको छ। साथै, नेपाल राष्ट्र बैंकको दीर्घकालीन योजना र नीति कार्यान्वयनमा अभिन्न सहयोगीको भूमिका निर्वाह गर्ने तयारीमा रहेको समेत बताएको छ।

सिबिफिनका कार्यवाहक अध्यक्ष तथा प्रवक्ता राजेश उपाध्यायद्वारा जारी विज्ञप्तिमा सुधार र समन्वयको प्रक्रियामा निरन्तर सहकार्यका लागि संस्थागत रूपमा तत्पर रहने उल्लेख गरिएको छ।

आइतबार, ०१ असार २०८२, १३ : २२

प्रतिक्रिया