काठमाडौं— नेपालमा बैंकहरुको गैरबैंकिङ सम्पत्तिमा उल्लेखनीय वृद्धिका साथै खराब कर्जा पनि घट्न नसकेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार केही आर्थिक सूचकहरूमा सुधार देखिएपनि वित्तीय प्रणालीमा प्रश्न उठाउने संकेतहरू देखिएका हुन् ।
चालु आर्थिक वर्षको १० महिना वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५.२४ प्रतिशत रहेको छ। जसमा वाणिन्य बैंकहरुको ५.०५ प्रतिशत र विकास बैंकहरुको ५.५६ प्रतिशत रहेको छ।
हाल बैंकिङ प्रणालीमा गैरबैंकिङ सम्पत्ति ४२ अर्ब ५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले बढी हो। एक वर्षको अवधिमा मात्र यस्ता सम्पत्ति १८ अर्ब ९ करोड रुपैयाँले बढेको छ।
कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ?
एक वर्षमा वाणिज्य बैंकहरूको मात्रै गैरबैंकिङ सम्पत्ति ८०.०५ प्रतिशतले वृद्धि भई ३६ अर्ब २० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम २० अर्ब ११ करोड रुपैयाँ थियो। त्यस्तै, विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३७.५६ प्रतिशतले वृद्धि भई ४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने फाइनान्स कम्पनीहरूको ७९.२० प्रतिशतले बढेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति रहेको बैंक ग्लोबल आईएमई बैंक हो। यस बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो सम्पत्ति २ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ थियो।
दोस्रो स्थानमा हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको छ। नेपाल बैंक भने सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति हुने बैंक बनेको छ । यो बैंकको यस्तो सम्पत्ति २० लाख रुपैयाँभन्दा तल रहेको छ।
प्रतिवेदनमा पुँजी पर्याप्तता अनुपातमा निरन्तर गिरावट, बढ्दो निष्क्रिय कर्जा, र धितो लिलामीबाट प्राप्त अचल सम्पत्तिको थुप्रो प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ।
प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा न्यून मुद्रास्फीति, बलियो चालु खाता र कुल गार्हस्थ उत्पादनमा सुधार देखिदा बैंकिङ प्रणालीभित्र कर्जा प्रवाह कमजोर, ब्याजदरमा कमी र गुणस्तरहीन सम्पत्तिको बोझ बढेको हो ।
प्रतिक्रिया