काठमाडौं– गोल्छा ग्रुपले किशोरकिशोरीको प्रतिभा, सिर्जनशीलता र समाजमा पु-याएको योगदानलाई सम्मान गर्ने उद्देश्यले 'ग्लोकल टीन हिरो नेपाल २०२५' को लागि आवेदन खुला गरेको छ। ११ औं संस्करणमा प्रवेश गरेको यस कार्यक्रमले देशभरका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूलाई आफ्नो नेतृत्व क्षमता र सामाजिक योगदान प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ।
ग्लोकल टीन हिरो कार्यक्रम केवल पुरस्कार नभई परिवर्तनको वाहकका रूपमा उदाएका किशोरकिशोरीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने महत्वपूर्ण अभियान हो। कार्यक्रमको संयोजक संस्था ग्लोकल प्रा.लि.नेपालमा शिक्षा, प्रशिक्षण र सीप विकासको क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो।
ग्लोकल टीन हिरो नेपाल २०२५ का लागि आवेदन आजदेखि खुला गरिएको छ। इच्छुक किशोरकिशोरीहरूले अनलाइनमार्फत नि:शुल्क आवेदन दिन सक्नेछन्। साथसाथै, कुनै प्रतिभाशाली किशोरकिशोरीलाई मनोनयन गर्ने सुविधा पनि उपलब्ध छ। आवेदन दिने अन्तिम मिति २०२५ जुलाई ३० रहेको छ।
६० भन्दा बढी शहरमा पुग्ने लक्ष्य
यस वर्ष, कार्यक्रमले ६० भन्दा बढी शहरमा पुगेर किशोरकिशोरीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ। जसले देशका विभिन्न भूगोलका युवाहरूलाई समेट्ने उद्देश्य राखेको छ।
फाइनलिस्ट छनोट र निर्णायक मण्डल
आवेदनको समीक्षा तथा मूल्याङ्कन पछि उत्कृष्ट ६ जना फाइनलिस्टहरू छनोट गरिने छन्। उनीहरूको कार्यको प्रभाव, नवीनता, नेतृत्व र दिगोपनका आधारमा विशिष्ट निर्णायक मण्डलले अन्तिम मूल्याङ्कन गर्नेछ।
यस वर्षको निर्णायक मण्डलमा कोका–कोला नेपालका राष्ट्रिय निर्देशक श्रीमती चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय निर्देशक डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी निर्देशक श्रीमती सीमा गोल्छा, वैद्यज अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्य, तथा नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख थोमस मिलर रहेका छन्।
साझेदार र समर्थनदाता संस्थाहरू
कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूको सहकार्य रहेको छ। गोल्छा ग्रुप शीर्षक साझेदारका रूपमा रहेकाछन् भने, युरोपेली संघ, भारतीय दूतावास रणनीतिक साझेदार हुन्। शैक्षिक साझेदारको रूपमा एम्बार्क कलेज, प्रमुख साझेदारहरूमा कोका–कोला, डब्लुडब्लुएफ, पञ्चकन्या समूह, केएफसी, टोयोटा, होन्डा, रियल, बैंकिङ साझेदारमा ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, प्रवद्र्धक साझेदारमा नेपाल पर्यटन बोर्ड, आतिथ्य सेवामा द सोल्टी काठमाडौं, मिडिया साझेदारमा द काठमान्डु पोस्ट, कान्तिपुर एप, इन्टरनेट साझेदारमा वल्र्डलिंक, प्रसारण साझेदारमा हिमालय टिभी एचडी, तथा यती एयरलाइन्स, पिज्जा हट, बेगानी ग्रुप, प्रिज्मा एडभर्टाइजिङ, एनएनक्यू आदि समर्थनकर्ताका रूपमा समावेश छन्।
किशोरकिशोरीका लागि प्रेरणादायी मञ्च
ग्लोकल टीन हिरो कार्यक्रमले विगतका वर्षहरूमा दर्जनौं किशोरकिशोरीलाई अन्तर्राष्ट्रिय मान्यता दिलाइसकेको छ। यो कार्यक्रम विशेषगरी शैक्षिक सिमानाभन्दा बाहिर रहेर सामाजिक परिवर्तन, उद्यमशीलता, वातावरणीय संरक्षण, प्रविधिमा नवप्रवर्तन जस्ता क्षेत्रमा योगदान गर्ने किशोरकिशोरीहरूको पहिचान र सशक्तिकरणमा केन्द्रित छ।
प्रतिक्रिया