काठमाडौं— सेयर कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा चालु आर्थिक वर्ष २०८१/८२ मा ऐतिहासिक वृद्धि भएको छ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकअनुसार, आर्थिक वर्षको जेठ महिनासम्म मात्रै १५ अर्ब ३० करोड ९८ लाख ९५ हजार रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन भइसकेको छ। यो हालसम्मकै सबैभन्दा ठूलो संकलन हो।
उक्त तथ्यांकमा असार महिनाको सेयर कारोबार समावेश गर्दा अन्तिम संकलन अझै उच्च हुने अपेक्षा गरिएको छ।
यसअघि सबैभन्दा धेरै आर्थिक वर्ष २०७७/७८ मा १४ अर्ब १३ करोड रुपैयाँभन्दा केही बढी कर उठेको थियो। यस वर्ष ११ महिनामै त्यसलाई पार गर्दै पुँजीगत लाभकर संकलन नयाँ उचाइमा पुगेको हो।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ९८ करोड ५२ लाख ८६ हजार, आव २०७७/७८ मा १४ अर्ब १३ करोड ६१ लाख र आव २०७८/७९ मा १० अर्ब ३५ करोड ३० लाख रुपैयाँ कर उठेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ९७ करोड पाँच लाख ८९ हजार रुपैयाँ पूँजीगत लाभकर उठेको थियो । गत आर्थिक वर्षमा भने पाँच अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो ।
प्रतिक्रिया