एक्सेल डेभलपमेन्ट बैंक ‘एनपीएस–एनसीएस तथा नेपाल पे कार्ड’ मा आबद्ध

विहीबार, ०५ असार २०८२, ११ : ११

काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस  (एनसीएचएल) बीच एनपीएस–एनसीएस, डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपाल पे क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी सेवा संचालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

हालै एनसीएचएलले एनपीएस–एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालकै स्वदेशी कार्ड स्किम ‘नेपालपे कार्ड’ को इस्युइङ र अक्वायरिङका लागि स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो। सोही क्रममा एक्सेल डेभलपमेन्ट बैंकले नेपालपे पूर्वाधारमा आबद्ध हुँदै नेपालपे कार्ड जारी गर्न तथा कारोबार गर्नेछ ।

एनपीएस–एनसीएस एक केन्द्रिय कार्ड स्विचको रूपमा कार्य गर्दै विभिन्न कार्ड स्विचहरूबीच आबद्धता रहने बैंकले जनाएको छ। यस प्रणालीले डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्ट सहज बनाउने, कारोबार लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीन प्रविधिको प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।

सम्झौता अनुसार, नेपालपे क्यूआर तथा यसको इन्टरओपरेबल क्यूआरमार्फत अब अलिपे प्लस नेटवर्क प्रयोग गरेर अन्तरदेशीय भुक्तानी गर्न सकिनेछ। यसका माध्यमबाट चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन, इटली, अष्ट्रिया, जर्मनीलगायतका देशबाट नेपाल आएका पर्यटकहरूले सजिलै भुक्तानी गर्न सक्नेछन्।

अलिपे प्लस नेटवर्कमा हाल ६६ ग्लोबल बजार अन्तर्गत ३० भन्दा बढी इस्युइङ्ग उपकरण, ३०० भन्दा बढी अक्वायरिङ नेटवर्क तथा ९ करोडभन्दा बढी व्यापारी आबद्ध रहेका छन्।

एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) र पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) तथा १०० भन्दा बढी गैर(बैंकिङ सदस्यलाई राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको छ।
 

विहीबार, ०५ असार २०८२, ११ : ११

प्रतिक्रिया