धितोपत्र बोर्डलाई स्टक ब्रोकर एसोसिएसनले दियो १६ बुँदे सुझाव

शनिबार, ०७ असार २०८२, १३ : ३८

काठमाडौं- स्टक ब्रोकर एसोसिएसन अफ नेपालले धितोपत्र बोर्डलाई १६ बुँदे सुझाव दिएको छ। बोर्डले शुक्रवार आयोजना गरेको “धितोपत्र बजार तथा बस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सुझाव संकलन” कार्यक्रममा एसोसिएसनको तर्फबाट सुझावहरू पेस गरिएको हो।

यस्ता छन् सुझावहरू:

  • लगानीकर्तालाई आवश्यक पर्ने विभिन्न किसिमका सेवाहरु एकद्वार प्रणालीबाट प्रवाह गरी धितोपत्र दलाली सेवा अन्तर्राष्ट्रियस्तरको बनाउन, धितोपत्रको दोस्रो बजारमा लगानिकर्ताको प्रवेश सहज गराउन तथा धितोपत्र बजारप्रति विश्वसनीयता वृद्धि गर्न धितोपत्र दलाल व्यवसायी (ब्रोकर)को कार्यक्षेत्र विस्तार गरी लगानी व्यवस्थापन तथा लगानी परामर्श सेवा प्रवाह गर्न अनुमति प्रदान गर्ने र मार्जिन ट्रेडिङको कार्यलाई पूर्ण कार्यान्वयनमा ल्याउनमा आएको नीतिगत र व्यवहारिक अड्चन हटाई सहजीकरण गर्ने ।
  • धितोपत्रको दोस्रो बजारमा सर्वसाधारणको पहुँच सहज बनाउन तथा बजारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसमेत विस्तार गर्ने आधिकारिक प्रतिनिधि वा सबब्रोकरको अवधारणा लागू गर्ने ।
  • प्रत्यक्ष भौतिक उपस्थिति बिना विद्युतीय माध्यम (अनलाइन तथा भिडियो केवाईसी) मार्फत नयाँ लगानीकर्ताको पहिचान स्थापित गरी डिम्याट र कारोबार खाता खोल्न, मेरो शेयर र अनलाइन कारोबार सेवाहरु उपलब्ध गराउन सक्ने स्पष्ट कानुनी व्यवस्था गर्ने ।
  • यथाशीघ्र इन्ट्राडे ट्रेडिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ (एसएलबी), इक्विटीमा आधारित फ्युचर्स र अप्सनजस्ता डेरिभेटिभ्स तथा राइट्सको कारोबारको व्यवस्था गर्ने ।
  • ऋणपत्रको दोस्रो बजार कारोबारलाई अझै गति प्रदान गर्न सरकारी बचतपत्रको कारोबारसरह संस्थागत ऋणपत्रको कारोबारमा पनि बिक्रेताले प्राप्त गर्ने ब्याज हिसाव गरी बिक्रीको भुक्तान प्राप्त गर्दाको बखत नै प्राप्त गर्ने व्यवस्था गरिनुपर्ने ।
  • लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीहरुलाई अख्तियारीनामा (पावर अफ अटोर्नी) दिन सक्ने कानुनी व्यवस्था गर्ने ।
  • बिक्रीमा अनावश्यक क्लोजआउट पर्नबाट लगानीकर्तालाई परेको आर्थिक हानीलाई निराकरण गर्न यथाशीघ्र अक्सन मार्केटको सुरुआत गर्ने।
  • सूचीकृत संस्था तथा धितोपत्र दलाल व्यवसायीहरुबाट कुनै नियम वा प्रक्रियाको परिपालना नभएको अवस्थामा सुचिकृत संस्थाको कारोबार वा व्यवसायीको कारोबारलाई निलम्बन गर्दा लगानीकर्ताहरु बिना कारण मारमा पर्ने हुँदा वित्तीय कारबाहीको व्यवस्था गर्ने ।
  • राफसाफ समयमै हुन नसकी दलाल व्यवसायीको कारोबार निलम्बन हुने व्यवस्थालाई राफसाफ कोषलाई यथाशीघ्र कार्यान्वयनमा ल्याई सञ्चालन गर्न नेप्से र सीडीएससीलाई स्पष्ट निर्देशन दिनुपर्ने ।
  • लगानीसम्बन्धी निर्णय गर्न आवश्यक पर्ने तथा धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्भाव्य सम्पूर्ण सूचना तथा तथ्यांकहरु समावेश हुने गरी त्रैमासिक वित्तीय विवरणको ढाँचालाई अझ विस्तृत बनाउने तथा यस्ता विवरणहरु तोकिएको समयभित्रै सार्वजनिक हुने सुनिश्चितता गर्ने ।
  • खरिदबापत भुक्तानी गनुपर्ने रकम तथा बिक्रीबापत धितोपत्र समयभित्रै जानाजान हस्तान्तरण नगर्ने लगानीकर्तालाई धितोपत्र कारोबार गर्न नपाउने गरी कालोसूचीमा राख्ने र कानुनी कारबाही हुने व्यवस्था मिलाउने।
  • भित्री कारोबार, सर्कुलर कारोबार, पम्प एन्ड डम्पजस्ता अवाञ्छित गतिविधिको निगरानी गर्न यस्ता कारोबारी, सूचीकृत संस्थाका शेयरधनी, सञ्चालक, कर्मचारी, ती सबैका एकाघर परिवार सदस्य, नातागोता, सबैको विवरणको सूची बनाई सम्पूर्ण व्यवसायीले प्रयोग गर्ने कारोबार प्रणालीमा देखिने व्यवस्था गर्न निर्देशन प्रदान गर्ने ।
  • दोस्रो बजारलाई अझ गतिशील तथा चलायमान बनाउन गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजार कारोबारमा सहभागी गराउने र बिक्री तथा लाभको रकम लैजान पाउने व्यवस्थामा हाल भइरहेको झन्झटिलो प्रक्रियालाई सहज गर्न नेपाल राष्ट्र बैंकसँग समन्वय गरी सहज गर्नुपर्ने ।
  • लगानी सचेतना कार्यक्रम तथा तालिम सञ्चालन गर्न, बजार सम्बद्ध निकायका कर्मचारीहरुलाई आवश्यक अभिमुखीकरण र वृत्ति विकासका तालिम प्रदान गर्न तथा प्रमाणीकरण गर्न, लगानी विश्लेषक तथा बजार विज्ञलाई प्रमाणीकरण गर्न, नयाँ औजार तथा कारोबार पद्धतिका बारेमा र पुँजीबजार तथा अर्थतन्त्रका बारेमा अध्ययन अनुसन्धान गर्न बोर्डको मातहतमा बजारका सहभागीलाई समेत समेटेर छुट्टै संस्थाको स्थापना गर्नुपर्ने ।
  • बजारमा भइरहेका अवाञ्छित गतिविधिलाई नियन्त्रण तथा निरुत्साहित गर्न बजारसँग प्रत्यक्ष सम्बन्धित रहेर सञ्चालनमा रहेका वा सञ्चालनमा आउने सामाजिक सञ्जाल पेज वा स्वरुपहरुको नियमन तथा सुपरिवेक्षण गर्ने कानुनी व्यवस्था गर्ने, नेपाल धितोपत्र बोर्ड वा नेप्सेबाट प्रमाणपत्र प्राप्त विश्लेषक तथा विज्ञहरुले मात्र सार्वजनिक रुपमा धितोपत्र तथा समग्र बजारको मूल्य प्रक्षेपण प्रेसित गर्न पाउने व्यवस्था गर्ने ।
  • कम्पनी रजिस्ट्रारको कार्यालयअन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोषलाई धितोपत्र बोर्डको मातहतमा ल्याई कोषको मर्मबमोजिम प्रभावकारी रुपमा सञ्चालन गर्ने, यसमा केही कानुनी अड्चन भए परिमार्जनका लागि बोर्डमार्फत पहल गर्नुपर्ने ।
  • सबैभन्दा पारदर्शी र विश्वासिलो रहेको धितोपत्र दलाल व्यवसायलाई अझ पारदर्शी बनाउन तथा आमसर्वसाधारण लगानीकर्ताको सहभागितामार्फत अझ विश्वसनीयता सुदृढ गर्न निश्चित रिपोर्टिङका प्रावधानहरु राखी ब्रोकर प्रोप्राइटरी ट्रेड खुलाउने तथा दलाल व्यवसायी कम्पनीहरुले सर्वसाधारणमा शेयर जारी गर्न पाउने कानुनी व्यवस्था गर्ने ।

 

शनिबार, ०७ असार २०८२, १३ : ३८

प्रतिक्रिया