बीवाइडीको नयाँ डल्फिनमा ब्याट्री परिवर्तन, २०२५ मोडल नेपालमा आयो

सोमबार, ०९ असार २०८२, ११ : ३३

काठमाडौं– बीवाइडीले डल्फिनको २०२५ मोडल नेपालमा ल्याएको छ । कम्पनीले आफ्नो सफल मोडलका रुपमा रहेको नयाँ डल्फिनमा १२ भोल्टको ब्याट्री परिवर्तन गरेर नेपाल ल्याएको हो ।

यसअघि १२ भोल्टको ब्याट्री लिड एसिड ब्याट्री रहेकोमा त्यसलाई परिवर्तन गरेर लिथियम आयोन दिएको हो । नेपालमा अहिलेसम्म उपलब्ध कुनै पनि कारमा १२ भोल्टको ब्याट्री लिथियम आयोन छैन । उक्त ब्याट्रीमा १५ वर्ष लाइफ रहेको छ । १२ भोल्ट ब्याट्रीमा लिथियम ब्याट्री प्रयोग गर्ने डल्फिन नै पहिलो मोडल बन्न सफल भएको छ ।

नेपालमा बिक्री भइरहेका ईभीहरुमा मेन हाइभोल्टेज ब्याट्री एलएफपी वा एनसीएम भएपनि सानो ब्याट्री लिड एसिड भएकाले ईभीहरु ब्रेक डाउन हुने समस्या थियो ।

उसोत बीवाइडी डल्फिनले नेपालमा राम्रै रेकर्ड कायम गरेको छ । ह्याचव्याक कार सेग्मेन्टमा ईभीको पहिलो सफल मोडल बनेको डल्फिन सन् २०२३ मा पहिलो पटक नेपाल आएको हो । नेपाल आएको दुई वर्षभन्दा कम समयमा २ हजार ४९० युनिट डल्फिन आएको छ ।

नेपालका लागि बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले आज एक कार्यक्रमका गर्दै २०२५ डल्फिन ग्राहकलाई हस्तान्तरण गरको छ ।

‘नेपालमा बिक्री सुरु भएको २२ महिनामा डल्फिन २ हजार ४९० युनिट बिक्री गरेका छौं । विश्वभर अहिलेसम्म ८ लाख ३० हजार युनिट डल्फिन बिक्री भएको छ’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने ।

कम्पनीले नयाँ डल्फिनमा स्पोर्टी स्टाइलको सस्पेन्सन दिएको जनाएको छ । साथै, बीवाइडी एप, मोवाइल फोन ब्लूटुथ कि, मोवाइल फोन एनएफसी कि, ब्राइटनेस धेरै भएको हेडलाइट, सुधारिएको कुलिङ र हिटिङ एयर कण्डिसन, प्यासेन्जर डोर सुइज, नयाँ बडी कलर अप्सन थपिएको छ ।

युरोएनक्यपमा ५ स्टार क्र्यास टेस्ट पाउन सफल डल्फिनको नयाँ २०२५ मोडलको मूल्य भने समान ४१ लाख १५ हजार रुपैयाँ राखिएको हो ।

सोमबार, ०९ असार २०८२, ११ : ३३

प्रतिक्रिया