काठमाडौं– नेपाल सरकारले सवारीसाधनबाट हुने वायुप्रदूषण नियन्त्रण गर्ने उद्देश्यले युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय गरेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस सम्बन्धी आधिकारिक जानकारी दिएको हो ।
राजपत्रअनुसार अबदेखि दुईपांग्रे, तीनपांग्रे तथा चारपांग्रे लघु सवारीसाधनका लागि युरो ५ र कम्तीमा चारपांग्रा भएका अन्य सवारीसाधनका लागि युरो ६ मापदण्डअनुसारको प्रदूषण परीक्षण अनिवार्य हुनेछ । यसअघि नेपालमा युरो ३ मापदण्ड अनुसार सवारीसाधन आयात तथा बिक्री हुँदै आएका थिए । विज्ञहरूका अनुसार युरो ३ को तुलनामा युरो ६ मापदण्ड भएका सवारीसाधन धेरै कम प्रदूषण उत्सर्जन गर्ने गर्छन् । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत सन् २०२५ (विक्रम संवत् २०८२) देखि युरो ६ मापदण्ड लागू गर्ने बताएको थियो ।
यद्यपि मन्त्रिपरिषद्मा पुगेको युरो ६ प्रस्ताव विगतमा विभिन्न कारण देखाउँदै फिर्ता गरिएको थियो । नेपालले विद्युतीय सवारीसाधन प्रवद्र्धन गरिरहेको भए तापनि युरो ३ मापदण्डकै सवारीसाधन आयातलाई खुला राख्दा प्रदूषण नियन्त्रणमा चुनौती थपिएको विज्ञहरूको भनाइ छ । असार ९ गतेसम्म प्रतीतपत्र खोलिसकेको वा बैंकमार्फत भुक्तानी गरिसकेको सवारीसाधन तथा नेपालमै एसेम्बल वा उत्पादन हुने सवारीसाधनमा भने पुरानै प्रदूषण मापदण्ड (वि.सं. २०६९ को व्यवस्था) लागू हुने राजपत्रमा स्पष्ट गरिएको छ ।
सरकारको यस निर्णयले वातावरण संरक्षणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ भने सवारीसाधन आयातकर्तालाई भने नयाँ प्रविधि र मापदण्डअनुसार गाडी ल्याउन थप तयारी गर्नुपर्ने अवस्था आएको छ ।
प्रतिक्रिया