माबिलुङ इनर्जीले असार २२ बाट आईपीओ निष्कासन गर्ने

आइतबार, १५ असार २०८२, ११ : २१

काठमाडौं- माबिलुङ इनर्जीले असार २२ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री खुला गर्नेछ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बिक्री खुला गर्नेछ। 

यो सेयरमा संखुवासभाको मादी नगरपालिकाको वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिकाको वडा नं. २, ३, ७, ८, ९ का बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्। स्थानीयले ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादी शाखा, लक्ष्मी सनराइज बैंकको खाँदबारी शाखा र मादी–७ स्थित आयोजनाको पावरहाउसबाट आवेदन दिन सक्नेछन्।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता सेयरमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्। उनीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओमा दुवै समूहका लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १९ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ४ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।

यस आईपीओ बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ।

आइतबार, १५ असार २०८२, ११ : २१

प्रतिक्रिया