काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्याण्डको बासेलमा आयोजित बैंक अफ इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस) को ९५ औं वार्षिक बैठकमा सहभागी भएका छन्। जुन २७ देखि २९ तारिखसम्म बसेको उक्त बैठकमा विश्वभरका ६३ केन्द्रीय बैंकका गभर्नर तथा उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
बीआईएसको बैठकमा अन्तरदेशीय भुक्तानी प्रणाली, कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, वित्तीय स्थायित्व, तथा केन्द्रीय बैंकहरूको सहकार्यबारे गहन छलफल भएको गभर्नर पौडेलले जानकारी दिनुभयो। बैठकका क्रममा गभर्नर पौडेलले “भुक्तानी प्रणालीका नवीनतम प्रविधि र केन्द्रीय बैंकका चुनौती” तथा “केन्द्रीय बैंकमा एआईको उपयोग” सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरूमा समेत सहभागिता जनाएका थिए ।
गभर्नर पौडेलले बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्स, भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्रा, एडीबीका गभर्नर तथा अन्य देशका केन्द्रीय बैंक अधिकारीहरूसँग समेत भेटघाट गरेका छन्। ती भेटघाटमा आपसी द्विपक्षीय सहकार्य, भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने, जनशक्ति विकास र वैदेशिक विनिमय सञ्चिति व्यवस्थापनमा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो।
बैठकका क्रममा नेपाल राष्ट्र बैंकको वैदेशिक सञ्चिति व्यवस्थापनमा सुन खरिदलगायत नयाँ लगानी उपकरणको प्रयोग गरी प्रतिफल बढाउने सम्भावनाबारे समेत छलफल भएको राष्ट्र बैंकले जनाएको छ।
उक्त कार्यक्रममा गभर्नर पौडेलसँगै बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालयका निर्देशक शरणकुमार अधिकारीको सहभागिता रहेको थियो।
प्रतिक्रिया