कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त छन् । काष्ठकलाका सामग्री बनाउने कार्य उनले तालिम लिएर सिकेका होइनन् । मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिकेका हुन्।
आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उनी संलग्न भए । गाउँकै काठका फर्निचर बनाउने व्यक्तिसँग मजदुरका काम थालेका उहाँले एक–दुई वर्षमै हाउस डेकोरेसनको कार्य सिके ।
“हाउस डेकोरेसनको कार्यमा कहिले काम पाइन्थो, कहिले पाइँदैनथ्यो”, उनले भने, “गतिलो कमाई नहँुदा त्यो कार्य छाडने निधो गरेँ, मोबाइलमा काष्ठकलासम्बन्धीका युट्युबमा भिडियो हेर्ने र नयाँ कुरा सिक्ने उत्सुकता थियो, युट्युब हेर्दै काष्ठकलासम्बन्धीका कार्य गर्न थालेँ ।” कमाई हुने हाउस डेकोरेसनको कार्य छाडेर मोबाइल हेरेर के पो गर्न थाल्यो भनेर घरकाले नै नानाथरि कुरा सुनाउन थाले । बुबाले नै बहुलाउन थालिस कि क्या हो, बर्बाद हुने भयो भनेको कुरा उनी स्मरण गर्छन् ।
आफन्तबाटै रकम सापटी लिएर काठ खरिद गरी काष्ठकलाका कार्यहरू उनी सिक्न थाले । युट्युबमा काष्ठकालाका कार्य गरेर गतिलो आम्दानी भएको उनी सुन्ने र हेर्ने गर्दथे, त्यही हेरेर उनले सामग्री निर्माण गर्न सिक्नुभएको थियो तर व्यवसायलाई अगाडि बढाउने आवश्यक पुँजी भने उनीसँग थिएन । आफन्तसँग लिएको सापटी रकम विजयसालको काठ खरिद गर्नमै सिद्धिएको थियो । व्यवसायलाई अगाडि बढाउन मेसिन खरिदसँगै आवश्यक औजार खरिद गर्ने पैसा थिएन । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सम्पर्कमा पुगे । महराले काष्ठकलाका सामग्री बनाउने सीप भएको तर पुँजी नभएको कुरा सहकारीका पदाधिकारीलाई सुनाए ।
“युट्युब हेरेर बनाएका काठका सामग्री झोलामै बोकेको थिए”, उनले भने, बनाएका सामग्री सहकारीका पदाधिकारीलाई सामग्री देखाँदा सहकारीका पदाधिकारी निकै प्रभावित भए ।” युवा स्वरोजगार कोषको रु दुई लाख ५० हजार पाँच प्रतिशत ब्याज तिर्नेगरी कर्जा उनले प्राप्त गरे । “प्राप्त कर्जाको रकमबाट काष्ठकलाका सामग्री बनाउन औजार ९आवश्यक टुल० र मेसिनको आवश्यकता थियो, त्यो खरिद गरेँ र बाँकी रकमबाट सामुदायिक वनबाट काठ खरिद गरेँ, त्यस पछि काष्ठकलाका सामग्री बनाउने र बेच्ने कार्यमा निरन्तर लाग्दै आएँ” उनले भने ।
महराले विशेषगरी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फुलदानी, मसलादानी बनाउने गर्छन् । खर्च कटाएर महिनामा उनले रु ३० देखि रु ४५ हजारको हाराहारीमा आम्दानी गर्छन् । काष्ठकालाकै कार्यबाट दुईजना दम्पती, दुई छोराछोरी र आमाबुबा गरी छ जनाको परिवारको खर्च चल्दै आएको छ । कर्जा लिएको रकममध्येको रु ६० हजार किस्ताको रकम उहाँले तिरिसक्नुभएको छ । प्रत्येक महिनाको किस्ता समयमै बुझाउने भएकाले सहकारीको उहाँप्रति विश्वास रहेको छ । सहकारीमै महराले रु ३० हजार जतिको रकम बचत गर्नुभएको छ । उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री कम्तीमा रु पाँच सय र बढीमा रु दुई हजारसम्ममा बिक्री हुने गरेका छन् ।
पहिले उनले उत्पादन गर्नुभएका सामग्री काठमाडौँ, बुटवल, नेपालगञ्जसम्म पुर्याएर बेच्ने गर्दथे । व्यापारीहरूले सामान लग्ने तर भुक्तानी समयै नदिने हँुदा अहिले महेन्द्रनगर, धनगढी, झलारीलगायत बजारमा उहाँले बेच्दै आएका छन् । ग्राहकका मागअनुसार सामग्री बनाउने भएकाले माग निकै बढी हुँदा काम गर्न भ्याइनभ्याई भएको उहाँ सुनाउनुहुन्छ । एक सामग्री उत्पादन गर्दा ३० प्रतिशत लागत खर्च लाग्ने गरेको छभने ७० प्रतिशतसम्म नाफा हुन्छ ।
कार्य सिक्दै गर्दा कुरा सुनाउने उहाँका घरकै सदस्य र आफन्त अहिले काम गरेको देखेर छक्क पर्छन् । महराका श्रीमती स्थानीय निजी विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत छिन् । विद्यालय समयअघि र पछि उनी पनि काष्ठका सामग्रीमा रङरोगन गर्ने, पोलिस गरी चम्काउने कार्यमा साथ दिन्छन् ।
काष्ठकलाका कामले नै समाजमा पहिचान बनाएकाले पहिलेको जस्तो उत्पादित सामग्री खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको उनी सुनाउँछन् । घरमै पुगेर व्यापारीहरूले सामग्रीको माग गर्छन् सोहीअनुसार उनले सामान तयार गरी दिन्छन् । व्यापारीले हाताहाती रकम दिने भएकाले बेच्ने झन्झट छैन । भविष्यमा यसलाई ठूलो उद्योगका रूपमा विस्तार गर्ने उहाँको सोच छ । त्यसका लागि अहिलेदेखि नै रकम बचत गर्न थालेको उनी बताउँछन् ।
“सँगैका साथी युरोप र कोरियातर्फ गए, स्वदेशमा बसेर गतिलो कमाई नै नहुने भएकाले जानका लागि निकै कर गरेका थिए”, उनले भने, “स्वदेशमै कार्य गरी सफल हुने मनै भित्रदेखिको इच्छा थियो, त्यसलाई पूरा गर्न लाागि परेँ, गतिलो कामाई छ, सबैले चिन्छन्, समाजमा बेग्लै पहिचान बनेको छ, विदेशमा गएका साथीहरूले पनि अहिले व्यवसायले गति लिन थालेको देखेर साझेदारका रूपमा राख्न कर गर्न थालेका छन् ।”
स्वदेशमा नै लगनशील भएर काम गरे सफलता प्राप्त हुने भएकाले युवाहरूलाई विदेशको मुख ताक्नुभन्दा स्वदेशमै सीप सिकेर व्यवसाय सञ्चालन गर्न उनी सुझाव दिन्छन् । विद्यालय शिक्षामा व्यावसायिक हस्तकालाका सीपमा आधारित कार्यहरूलाई समावेश गरिनुपर्ने उनको भनाइ छ । सहकारीका कार्यकारी प्रमुख गणेशदत्त भट्ट र भक्तबहादुर पौरखी व्यवसायी भएकाले उहाँको कार्यप्रतिको लगाव देख्दा निकै प्रभावित भएको बताउँछन् ।
प्रतिक्रिया