बैंकिङ प्रणालीमा तरलता, ४ दिनका लागि ५० अर्ब तान्दै राष्ट्र बैंक

आइतबार, २९ असार २०८२, १२ : १८

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज असार २९ गते आइतबार ५० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

केन्द्रीय बैंकले आज पहिलोपटक ४ दिनका लागि बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्न लागेको हो । यो निक्षेप संकलनको आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ४ दिने निक्षेप संकलन उपकरणको साउन १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
 

 
 
आइतबार, २९ असार २०८२, १२ : १८

प्रतिक्रिया